विश्वभर ३४ लाख ५९ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ३४ लाख ५९ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार ३४ लाख ५९ हजार ९ सय ७२ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ४ लाख ६ हजार १०७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ७० लाख ८६ हजार ७ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना भाइरसको महामारीले २० लाख ७ हजार २२० संक्रमित भएका छन् । त्यहाँ १ लाख १२ हजार ४४९ जनाको मृत्यु भएको छ भने कुल संक्रमितमध्ये ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसको महामारीले ३६ हजार ४९९ को मृत्यु भएको छ । एकै दिन १८ हजार ३७५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ६ लाख ९१ हजार ९६२ पुगेको छ । ३ लाख ५३ हजार ३७९ जनाको उपचार भइरहेको छ भने ३ लाख २ हजार ८४ जना संक्रमण मुक्त भएका छन् ।

छिमेकी मुलुक भारतमा सोमबार बिहानसम्म २ लाख ५७ हजार ५०६ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन २६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ७ हजार २०७ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख २३ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *