‘मेलम्चीले उब्जाएको निराशा बिट मार्ने बेला भयो, छिट्टै उद्घाटनको तयारीमा छौं’

काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले मेलम्ची खानेपानीको उद्घाटनको मिति सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेको जानकारी गराएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा मगरले मेलम्ची खानेपानी काठमाडौंमा ल्याउने परियोजनाको उद्घाटन छिट्टै हुने बताइन्। उनले आयोजनाको भौतिक निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताइन्।

उनले भनेकी छन्, ‘मेलम्चीले उब्जाएका निराशाको पनि बिट मार्ने बेला भएको छ। हामी मेलम्ची खानेपानीको उद्घाटनको समय सार्वजनिक गर्ने तयारीमा छौं भन्ने जानकारी गराउन चाहन्छु।’ मन्त्री मगरले मेलम्ची खानेपानीको वितरण प्रणाली भने आउँदो आर्थिक वर्षमा व्यवस्थित रूपमा सुरु गरिने बताइन्।

मेलम्ची खानेपानीको विषयमा उठ्ने गरेका प्रश्नहरूको बिट मार्ने बेला भइसकेको उनले बताइन्। ‘दुई दशकदेखि सधैँ उठिरहने प्रश्नमध्ये मेलम्ची आयोजना पनि हो। यसको भौतिक काम आगामी आर्थिक वर्ष भित्र सकिनेछ,’ मन्त्री मगरले भनिन्।

मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा वितरण गरिने र मेलम्ची खानेपानी नपुगेको ठाउँमा हाल काठमाडौं उपत्यकामा चालु रहेका मुहानको पानी पुर्‍याउने तयारी रहेको उनले जानकारी दिइन्। मन्त्री मगरले नेपालमा खानेपानीको समस्या तत्कालको नभएको बताउँदै सरकारले तत्काल र दीर्घकालीन योजना बनाएर समस्या समाधानका लागि लागिपरेको बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *