कारागारको सुरक्षाको जिम्मा सेनालाई दिइने

कञ्चनपुर । कञ्चनपुर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ ।

भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टिनको सङ्ख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टिनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि आउँदो असार १ गतेदेखि सेनालाई कारागारको सुरक्षाको जिम्मा दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार कोरोनाको सङ्क्रमण बढ्दै गएकाले जिल्लाभित्र जोखिम न्यूनीकरणमा संलग्न सङ्घ, प्रदेश, स्थानीय तहका अस्पताल एवं स्वास्थ्य केन्द्र, सामुदायिक तथा निजी क्षेत्रका अस्पतालहरुबीच थप समन्वय र सहजीकरण गर्न नेपाली सेनाका सहसेनानी डा अल्का मजगैंयालाई तोकिएको छ ।

यसैगरी जिल्लाका क्वारेन्टिनमा रहेका सात हजारभन्दा बढी व्यक्तिमध्ये मुटु रोगी आठ, दीर्घरोगी २१, गर्भवती महिला ४०, क्यान्सर रोगी एक, पाइल्स रोगी एक, हालै शल्यक्रिया गरेका २६, जन्डीसका बिरामी एक र ६० वर्षमाथिका नागरिक ९२ जना गरी २०० जना रहेका छन् ।

कोरोना भाइरसको उच्च जोखिममा रहेका ती व्यक्तिहरुको तत्काल आरडिटी परीक्षण गरी नतिजा नेगेटिभ आएमा कञ्चनपुर जिल्लास्तरीय होम क्वारेन्टिन कार्यविधि २०७७ अनुसार होम क्वारेन्टिनमा पठाउने निर्णयसमेत गरिएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए ।

आरडिटी पोजेटिभ आएमा सम्बन्धित स्थानीय तहमै प्रि-आइसोलेशनमा थप स्वास्थ्योपचारको व्यवस्था मिलाइने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *