जनसुरक्षा कोषको रकममा सरकारले ब्रह्मलुट मच्चाएको काँग्रेसको आरोप

विराटनगर। नेपाली काँग्रेस प्रदेश एकका प्रमुख सचेतक केदार कार्कीले कोरोना नियन्त्रणका काममा सरकारले ब्रह्मलुट मच्चाइरहेको आरोप लगाएका छन्। प्रदेशसभाको विशेष समयमा कार्कीले कार्कीले प्रदेश सरकारले राहतका लागि गठन गरेको जनसुरक्षा कोषको रकममा ब्रह्मलुट मच्चाएको आरोप लगाएका हुन्।

उनले भनेका छन्, ‘कोरोना नियन्त्रणका काममा सरकारले ब्रह्मलुट मच्चाइरहेको छ। जनसुरक्षा कोषमा प्राप्त भएको जिन्सी सामान खोइ ?’ उनले प्रदेश १ का मुख्यमन्त्री आफैँले भ्रष्टाचारको अगुवाइ गरिरहेको दाबी गरे। ‘मुख्यमन्त्रीले बजेट बनाउने बेलामा आर्थिक मामिला मन्त्रालयका सहसचिवलाई सरुवा गरेर जगेडामा राख्नु, भौतिक पूर्वाधार मन्त्रालय मातहतका विभिन्न स्थानका डिभिजन इन्जिनियरलाई विना कारण सरुवा गर्नुलगायत गतिविधिले मुख्यमन्त्री आफैँ भ्रष्टाचारमा लिप्त भएको स्पष्ट हुन्छ,’ कार्कीले भने।

कार्कीले कोरोना नियन्त्रण, उपचार र व्यवस्थापनमा भ्रष्टाचार भएकाले छानविनका लागि संसदीय समिति गठन गर्न माग गरे। उनले क्वारेन्टिनहरु मापदण्डअनुसार सरकारले उचित व्यवस्थापन नगरेकोले डराउने अवस्था सिर्जना भएको बताए। उनले क्वारेन्टिनमा मापदण्ड अनुसार व्यवस्थापनमा जोड दिन आग्रह गरे। उनले भनेका छन्, ‘क्वारेन्टिन नै कोरोना सार्ने यन्त्र बनेकाले जनता क्वारेन्टिनदेखि डराउन थालेका छन्।’

कार्कीले प्रदेश सरकार कोरोना नियन्त्रणमा असफल भएको दाबी गरे। अव्यवस्थित क्वारेन्टिनका कारण झापाको केचनाकवलमा कोरोना सङ्क्रमण बढेको उनको दाबी छ। धरानमा सङ्क्रमित भएकी एक महिलालाई नजिकै रहेको बिपी अस्पताल भर्ना गराउन पनि १८ घण्टा लाग्नु विडम्बनाको विषय भएको उनले बताए।

कार्कीले प्रदेश १ मा कोरोनालाई देखाएर मन्त्री धनी हुने र जनता भोकै मर्ने अवस्था आएको बताए। जनसुरक्षा कोषको रकम गरिब जनताको पेट भर्न नभई मिडियाका सञ्चालकलाई वितरण गरिएको उनले बताए। ‘विज्ञापन दिनका लागि वडा, नगर, गाउँपालिका, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय हुँदाहुँदै जनसुरक्षा कोषको ५० लाख रुपैयाँ किन बाँढ्नुपर्यो ?’ कार्कीले प्रश्न गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *