नेतामा अल्पज्ञान र अहंकारको घातक मिश्रण खतरनाकः डा. बाबुराम भट्टराई

काठमाडौं। नेपालीको प्रतिरोधात्मक क्षमताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आलोचना गरेका छन्। भट्टराईले देशका नेतामा अल्पज्ञान र अहंकारको घातक मिश्रणको परिणाम विश्वमा धेरै मानिसहरू कोभिड-१९ बाट ज्यान गुमाउन पुगेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले बुधवार प्रतिनिधिसभा बैठकमा नेपालीको प्रतिरोध क्षमता राम्रो रहेको दाबी गरेका थियो। सांसद गगन थापाले प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भनेको भन्दै प्रश्न गरेपछि ओलीले जवाफमा भनेका थिए, ‘नेपालीहरूको रोग प्रतिरोध क्षमता राम्रो छ भनेर भर्खरै सुन्नु भयो मैले भनेको। नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्नेमा चुनौती दिन कुनै डाक्टर आयो भने स्वीकार गरौंला।’

सोही विषयको डा. बाबुराम भट्टराईले पनि आलोचना गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘देशका नेतामा अल्पज्ञान र अहंकारको घातक मिश्रण भयो भने कोभिड १९ कै क्रममा कति बढी ज्यानको क्षति हुँदो रहेछ भन्ने हामीले विश्वमा देखिरहेका छौँ!’

ओलीको अभिव्यक्तिलाई अल्पज्ञान र अहंकारका रूपमा व्याख्या गरेका भट्टराईले ‘सर्वज्ञानी प्रम’ भन्दै व्यङ्ग्य पनि गरेका छन्, ‘अमेरिकी राष्ट्रपतिको मलेरिया प्रतिरोधी क्विनाइन सिफारिस! भारतमा गोमुत्रपान! ब्राजिलका रापको लिटिल फ्लु! हाम्रा सर्वज्ञानी प्रमको ‘प्रतिरोध क्षमता’!,’ भट्टराईले लेखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *