नेपाली अर्थतन्त्रको ढाड खुलाबजार अर्थनीतिले भाँचेको होः खिमलाल भट्टराई

काठमाडौं। नेकपाका सांसद खिमलाल भट्टराईले नेपालको अर्थतन्त्रको ढाड खुलाबजार अर्थनीतिका कारण भाँचिएको टिप्पणी गरेका छन्। बिहीबारको राष्ट्रियसभा बैठकमा भट्टराईले खुलाबजार अर्थतन्त्र, नव उदारवाद र आर्थिक उदारीकरण नीतिका कारण देशको अर्थतन्त्र धराशायी भएको बताए।

‘अर्थतन्त्रको ढाड कहाँबाट भाँचियो ?, उनले भनेका छन्, ‘एउटा रेलिङ भाँचिएको भए एक घटना हुन्थ्यो। एक दिन मात्र बन्द भएको भए देशको जीवन बन्द हुँदैन थियो। तर हाम्रो देशको अर्थतन्त्रको ढाड भाँचिएको छ। देशको जीवन बन्द हुन जस्तो पुग्यो। त्यो आर्थिक उदारीकरण र खुलाबजार अर्थतन्त्रको नग्न प्रयोग जहिलेबाट सुरु भयो त्यहीबाट देशको अर्थतन्त्र थिल थिल हुन पुग्यो।’

भट्टराईले देशमा २०४८ सालपछि अवलम्बन गरिएको आर्थिक उदारीकरणका कारण आज नेपालको अर्थतन्त्र ओरालो लागेको टिप्पणी गरे। उनले भनेका छन्, ‘काँग्रेसले भएका उद्योग कलकार खाना बेच्यो। रोजगारी प्राप्त गरिरहेका व्यक्तिहरूलाई बेरोजगार बनायो। आज तीस लाख युवा श्रम शक्ति विदेशमा छ। त्यसले गरिब र धनी बिचको खाडललाई झन् गहिरो बनाउँदै लग्यो। यस्तो परिस्थितिमा देश २०४८ साल पछाडि प्रबल हुँदै आएको खुलाबजार अर्थतन्त्र र आर्थिक उदारीकरणका कारण पुगेको हो।’

उनले अगाडि भनेका छन्, ‘भएका उद्योग धन्दा बिक्री गर्ने, अनि नयाँ उद्योग धन्दा सञ्चालन नगर्ने, सबै क्षेत्रमा निजीकरण गरियो। यही खुला बजार अर्थतन्त्रको नीतिका कारणले देश भताभुङ्ग भयो।’ उनले त्यसअघि नेपालमा मजबुत कृषि अर्थतन्त्र रहेको बताए। तर कृषि अर्थतन्त्रको ढाड पनि खुलाबजार अर्थनीतिको कारण भाँचिएको भट्टराईको तर्क छ।

‘हाम्रो देशमा मजबुत कृषि अर्थतन्त्र थियो। एउटा घरलाई सम्पूर्ण रूपमा सञ्चालन गर्न सक्ने परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्र थियो। कृषि अर्थतन्त्रको ढाड अरू कसैले भाचेको होइन, खुलाबजार अर्थनीतिले भाँचिएको हो,’ उनले भने, ‘त्यति मात्र होइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण गरियो। आज स्वास्थ्य संस्था हेर्नुहोस्। ध्वस्त अवस्थामा छन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *