‘नेपाल-भारत सीमा विवाद चर्कनुमा भारतबाट कमजोरी भयो’ पूर्वभारतीय राजदूत राकेश सूद

काठमाडौं। नेपाल भारतबीच सीमा विवाद चर्कनुमा भारत तर्फबाट कमजोरी भएको नेपालका लागि भारतका पूर्व राजदूत राकेश सूदले बताएका छन्। सीमासम्बन्धी वार्ताका लागि भारत तर्फबाट ढिलाइ भएका कारण विवाद चर्केको उनको भनाई छ। बीबीसी हिन्दी सेवासँगको अन्तरवार्तामा सूदले दुई देशबीच आपसमा वार्ता हुन नसकेकोले विवादको चर्केको बताए।

‘नेपाललाई भारतले मिटिङ टारिरहेको भन्ने लाग्यो। रक्षामन्त्री राजनाथ सिंहले सडकको उद्घाटन नै गरेपछि त झन् भारतले मिटिङ टारिरहेको छ भन्ने उसको शङ्का चाहिँ यो त हो नै रहेछ भन्ने विश्वासमा बदलियो,’ उनी भन्छन्, ‘भारतको त इराधा (उद्देश्य) नै फरक पो रहेछ भन्ने पर्‍यो।’

यद्यपि उनले वार्ताको लागि ढिलाइ हुनुमा केही कारण भने उल्लेख गरेका छन्। नेपालस्थित भारतीय राजदूतको डिसेम्बरमा कार्यकाल सकिएपछि नयाँ राजदूतले काठमाडौँमा कार्यभार सम्हाल्न २–३ महिना लागेकोले वार्ता हुन नसकेको बताएका छन्। त्यसपछि जनवरीको अन्त्यतिर भारतका विदेश सचिवको कार्यकाल पनि सकिएको हुँदा सचिव तहमा पनि वार्ता हुन नसकेको उनले बताए।

अहिले फेरि कोरोना भाइरसको संक्रमण फैलिएपछि जारी लकडाउन सकिए बैठक गर्न भारतीय पक्षले चाहेको उनको भनाई छ। दुई पक्षीय आमनेसामने भएर आपसमा कुराकानी गर्न सम्भव नरहे पनि टेलिफोन वा भिडियो कन्फ्रेन्समार्फत् विदेश सचिव तहमा छलफल भएको भए विवादले ठूलो रूप नलिने सूदले बताए। अब विदेश मन्त्रालयका अधिकारीबाट भन्दा पनि राजनीतिक तहमा संवाद यस विवादको समाधान गर्नु पर्नेमा उनको जोड छ।

पूर्व राजदूत सूदले नेपालले नयाँ नक्सा जारी गर्नुमा चीनको भूमिका नरहेको पनि बताएका छन्। अहिले नेपालले नक्सा जारी गर्नुमा चीनको कुनै भूमिका छ त ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘नेपालको यो फैसलामा चीनको भूमिका म देख्दिन किनभने चीनले यो बोर्डरको मुद्दामा नेपालको कहिले पनि साथ दिएको छैन।’

चीन र भारतबीचमा जुन सम्झौताहरू हुँदै आएका छन् त्यसमा चीनले भारतलाई नै समर्थन गर्दै आएको बताएका छन्। भारतले सीमा व्यापार बढाउने कुरा गर्दा पनि चीनले भारतलाई नै सहयोग गरेको उनको भनाई छ। सन् २०१५ मा प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदा भएको सहमतिमा पनि र चिनियाँ प्रधानमन्त्री वेन जिया वाओ भारत जाँदा पनि त्यही कुरा भएको सूदले बताए। चीनले भारतसँग सम्झौता गर्दा लिपुलेक भारतको हिस्सा भएको मानेको उनको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *