लकडाउनको आदेश पालना नगरे कारबाही गर्ने गृहको चेतावनी
काठमाडौं । गृहमन्त्रालयले पछिल्लो समय भइरहेका प्रदर्शनप्रति ध्यानाकर्षण भएको बताउँदै लकडाउनको पालना नगरे जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । गृहका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भीडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”
यस्तै, नेपाल सरकारको आदेश बमोजिम आवश्यक काम नपरी हिंडडुल गर्न नहुने, हिंडडुल गर्न वा आवागमन गर्नै पर्ने भएमा पनि न्यूनतम भौतिक तथा सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क लगायत स्यानिटाइजरहरु प्रयोग गर्नुपर्ने, अनावश्यक भिडभाड नगर्ने, नगराउने भनी उल्लेख भएकोमा उक्त प्रावधानको प्रतिकुल कार्यहरु भए गरेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।
बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिवाना र १ महिना देखि ६ महिनासम्म थुनामा राख्ने भनिएको छ ।
नेपाल सरकारले जारी गरेको बन्दाबन्दीको आदेश विपरीत हुने गरी कुनै पनि काम कारबाही गृहको अनुरोध छ ।
विज्ञप्ति :