कोरोनाको औषधि परीक्षणमा सहभागी हुन नेपाल इच्छुक, यसरी अघि बढ्दैछ प्रक्रिया

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनमार्फत् भइरहेको कोरोनाभाइरस उपचारमा प्रयोग गर्न सकिने औषधिको परीक्षणमा नेपाल पनि सहभागी हुनेगरी प्राविधिक तयारी अघि बढाइएको अधिकारीहरूले बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘सोलिड्यारिटी ट्रायल’ अर्थात् ऐक्यबद्धता परीक्षण अभियानअन्तर्गत नेपालमा पनि कोभिड-१९ को नियन्त्रण र उपचारमा प्रयोग भइरहेका औषधिहरूलाई परीक्षणका लागि अनुमति दिन लागिएको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका एक अधिकारीले सम्भावित औषधिको परीक्षणका लागि नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराइरहेको भन्दै कुन औषधि परीक्षण गरिने भन्ने सरकारसँगको परामर्शबाट निर्धारण हुने जानकारी दिएका छन् । अहिले ३५ देशमा कोभिड-१९ भएका ३,५०० भन्दा बढी मानिसलाई उक्त औषधिको परीक्षणमा सहभागी हुन छानिएको बताइन्छ ।

के गर्दैछ परिषद्?
अहिले १०० वटाभन्दा बढी देश ‘सोलिड्यारिटी ट्रायल’मा सहभागी भएका वा सहभागी हुन इच्छुक भएको बताइन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवाली विश्व स्वास्थ्य सङ्गठनको ऐक्यबद्धता समूह अन्तर्गतको परीक्षणलाई अनुमति दिने प्रकिया अन्तिम चरणमा रहेको जानकारी दिए ।

‘अहिले हामी अनुसन्धानको लागि नैतिक स्वीकृति दिने अन्तिम चरणमा छौँ। परिषद्ले स्वीकृति दिएपछि उक्त अनुसन्धान अघि बढ्छ,’ उनले भने । उनले परिषद्ले अनुमति दिएपछि सम्झौतामा हस्ताक्षर हुने र औषधिहरू विश्व स्वास्थ्य सङ्गठनले बाहिरबाट मगाउने भएकाले कति समयमा अनुसन्धान ठ्याक्कै अघि बढ्छ आफूले भन्न नसक्ने बताए ।

उनले अनुसन्धानमा प्रयोग गरिने औषधि सम्झौता हस्ताक्षरका क्रममा तय हुने भन्दै त्यससम्बन्धी प्रोटोकल र अनुसन्धानमा प्रयोग हुने नमुनाको पनि निर्धारण गरिने उल्लेख गरे । नेपाली अधिकारीहरूका अनुसार परीक्षणमा हाईड्रोक्सीक्लोरोक्वाईन, क्लोरोक्वाईन र रेम्डेसिभिरजस्ता औषधि प्रयोग गर्न सकिने भन्नेबारे छलफल भइरहेको छ ।

अन्य देशमा हाईड्रोक्लोरोक्वाईन, क्लोरोक्वाईन, रेम्डेसिभिर, लोपिनोभिर, रिटोनोभिर र इन्टर्फेरनजस्ता औषधिहरूको परीक्षण हुँदै आएको छ । सदस्यसचिव डा. ज्ञवालीले डब्ल्यूएचओसँगको समझदारीका आधारमा कुनै एक औषधि नेपालमा परीक्षण हुने बताए ।

के भन्छ डब्ल्यूएचओ ?
औलोको उपचारमा प्रयोग हुने हाईड्रोक्लोरोक्वाईनले घातक परिणाम दिन सक्ने चिकित्सकहरूले बताएका छन् । त्यसपछि डब्ल्यूएचओले सावधानी अपनाउन भन्दै केही दिन उक्त औषधिलाई परीक्षणमा प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको थियो ।

तर अघिल्लो सातामात्रै डब्ल्यूएचओले उपलब्ध तथ्याङ्कहरूले परीक्षणसम्बन्धी मापदण्ड परिमार्जन गर्नुपर्ने कुनै आवश्यकता नरहेको देखाएको उल्लेख गरेका छन् । नेपालस्थित डब्ल्यूएचओका प्रवक्ता सुजनगोविन्द अमात्यका अनुसार नेपाल सरकारले औषधिहरूको परीक्षणमा सहभागी हुने इच्छा व्यक्त गरेको छ ।

उनले भने, ‘अहिले विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयले नेपाल सरकारलाई परीक्षणमा सहभागी हुन प्राविधिक सहायता उपलब्ध गराइरहेको छ । अनुसन्धानमा प्रयोग गरिने औषधि नेपाल सरकारसँगको छलफलपछि निर्धारण हुनेछ ।’

डब्ल्यूएचओले कोभिड-१९ को अप्रमाणित कुनै पनि किसिमका उपचार विधि प्रयोग गर्न बिरामीहरूलाई सिफारिस नगर्न चिकित्सक वा स्वास्थ्य समूहलाई अनुरोध गर्दै आएको छ ।

प्रक्रिया कस्तो छ?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले नैतिक स्वीकृतिबाहेक अभिलेखीकरण पनि गरिनुपर्ने भन्दै डब्ल्यूएचओले पनि ‘क्लिनिकल ट्रायल रजिस्ट्री’मा आफूलाई दर्ता गराउनुपर्ने बताए ।

डब्ल्यूएचओसँग परिषद् सम्पर्कमा रहेको उल्लेख गर्दै अनुसन्धानको ढाँचासहित विविध विषयहरू टुङ्गिन बाँकी रहेको उनले बताए । उनी भन्छन्, ‘अहिलेसम्म कुनै पनि औषधिलाई नेपालमा परीक्षण गर्नका लागि अनुमति दिएका छैनौँ । मन्त्रालय र परिषद् मिलेर निर्देशिका बनाएका छन् र कसैले अध्ययन गर्न चाहनुहुन्छ भने निर्देशिकाको आधारमा दिन सकिने भन्ने कुरा छ ।’

अधिकारीहरूले निर्देशिकामा भएका व्यवस्थाअनुसार अनुसन्धान प्रस्ताव स्वीकृत गराएर नेपालमा देशभित्र र बाहिरका व्यक्तिगत, समूहगत वा औषधि निर्माण गर्ने निकायले विभिन्न औषधिको परीक्षणहरू गर्न सक्ने बताउँछन् । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *