सरिता गिरीले संशोधन फिर्ता नलिएपछि समाजवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौं। आफ्नो पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन नमानेपछि त्यसबारेमा छलफल गर्न शनिवार जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै छ। निशान छापमा प्रयोग भएको नेपालको नक्सामा लिम्पियाधुरा, गुटी, गुञ्जी, नावीलगायतका क्षेत्र समेट्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयकमा समाजवादीकी संसद् गिरीले संशोधन दर्ता गराएकी थिइन्।

संविधान संशोधन विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो। मंगलबारको बैठकले विधेयक संशोधनका लागि अनुमोदन गरेको थियो। विधेयक अनुमोदन भएपछि शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ताको समय थियो। जसमा गिरीको एकमात्र संशोधन दर्ता भएको छ। उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ।

संविधान संशोधन प्रस्तावको समर्थन गरेको समाजवादी पार्टीले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने लिखित जानकारी सांसद गिरीलाई दिएपनि सांसद गिरीले मानेकी छैनन्। सांसद गिरीले राष्ट्रियताजस्तो संवेदनशील विषयमा संसद्, सामाजिक सञ्जालबाट लगातार आपत्तिजनक अभिव्यक्ति दिँदै आएकी छन्। उनको अभिव्यक्तिलाई लिएर उनकै पार्टी र बाहिर चर्को आलोचना भएको छ। उनीमाथि कारबाहीको माग भएको छ।

निशान छापमा नेपालको नयाँ नक्सा राख्न आजै संविधान संशोधन गर्ने तयारी छ। त्यसका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बस्नुअघि अहिले बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए। उनले सांसद सरिता गिरीले संशोधन फिर्ता लिन नमानेपछि उक्त विषयमा के गर्ने भन्ने विषयमा छलफल हुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *