प्रतिनिधिसभाबाट संविधान संशोधन सर्वसम्मत पारित

काठमाडौं। प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। संविधान संशोधनको पक्षमा २५८ मत परेका छन्।

शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा पक्षमा मत दिएका हुन्। विपक्षमा भने कुनै पनि मत परेन।

भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा कालापानी सहितको भूभाग समेटेर तयार पारीएको नेपालको नयाँ नक्सालाई आजबाट नेपालको संविधानले आधिकारिक रुपमा ग्रहण गरेको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल पछि भएको मतदानमा दुई तिहाई मत प्राप्त भएको छ ।

यो सँगै नेपाललाई अब भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक कालापानी भूभाग माग गर्न अझ सहज भएको छ । आजको संविधान संसोधन विधेयकमा दफावार छलफलमा बोल्ने सबै दलका नेता तथा सांसदहरुले भारतसँग कुटनीतिक वार्ताको माध्यमबाट अतिक्रमित भूभाग फिर्ता लिने बताएका थिए ।

संविधानको धारा ९ को उपधारा २ अनुसारको अनुसूची-३ मा नेपालको निशान छाप रहेको छ। उक्त निशान छापमा भएको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्र समावेश थिएन। सरकारले उक्त क्षेत्रहरु समेटेर गत जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो।

सरकारले ल्याएको संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, राप्रपा, जनमोर्चा र नेमकिपाले मतदान गरेका हुन्। अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट लागू भएसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *