जनजीविकासँग जोडिएका बस्तुमा अनावश्यक कर नबढाउन आग्रह

काठमाडौं। नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले नागरिकको जनजीविकासँग जोडिएका बस्तुहरूमा बढाइएको कर घटाउन सरकारसँग आग्रह गरेकी छन्। आइतबार प्रतिनिधिसभामा बैठकमा भुसालले जनजीविकासँग जोडिएका बस्तुहरूमा अनावश्यक रूपमा कर बढाइएको बताइन्।

विद्युतीय गाडीहरूमा कर बढाएर नेपाली युवाहरूको विद्युतिय सवारी साधन चलाउने सपनालाई निराश बनाएको बताएकी छन्। हाइड्रो पावरको राम्रो सम्भावना भएको देशमा विद्युतिय सवारी साधनमा अनावश्यक रूपमा कर बढाइनु विडम्बना भएको उनले बताइन्। अनावश्यक रूपमा कर बढाएर धनी वर्गका मानिसहरूले मात्र विद्युतिय सवारी साधन प्रयोग गर्न पाउने र मध्यम वर्गका मानिसहरूको आरा र भरोसा निराशामा परिणत हुने वातावरण बनेको भुसालले बताइन्।

सर्वहारा वर्गको नाममा राजनीति गर्ने सरकारले सर्वहारा वर्गको सेवा सुविधामा पनि ध्यान दिन सक्नुपर्ने उनको भनाइ छ। उनले आगामी आर्थिक वर्षको बजेट महिला मैत्री पनि नहुने देखिएको बताइन्। उनले महिलाले प्रयोग गर्न इन्डक्सन सामानहरूमा पनि अनावश्यक रूपमा कर बढाएको प्रति आपत्ति जनाइन्। उनले चुरी पोतेलगायतका सामानहरूमा बढाइएको कर घटाउन समेत माग गरिन्।

पशु दानाहरूमा बढाइएको करले कृषिमा व्यावसायिकतामा असर गर्ने उनले बताइन्। उनले कृषिमा आकर्षण बढाउनु पर्ने  समयमा सरकारले बढाएको करले किसानहरुलाई प्रोत्साहित गर्न नसक्ने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *