अमेरिकामा कोरोनाको मृत्युदर घट्यो, विश्वभर ४१ लाख मानिस निको भए
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार ४१ लाख ४ हजार ३ सय ७३ जना कोरोनाबाट निको भएका हुन् ।
अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित अमेरिका, ब्राजिल, इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ४ लाख ३५ हजार १७७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ७९ लाख ८४ हजार ४३२ छ ।
अमेरिकामा मृत्युदर घट्यो
कोरोनाले सबैभन्दा बढी प्रभावित भएका अमेरिकामा पछिल्लो दुई दिनयता संक्रमणबाट हुने मृत्यु घटेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा अमेरिकामा ३२६ जनाको मृत्यु भएको हो । अघिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ७०२ जनाको मृत्यु भएको थियो ।
अमेरिकामा क्रमशः मृत्यु हुनेको संख्या कम हुँदै गएको छ । अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित देश हो । त्यहाँ पछिल्लो २४ घण्टामा १९ हजार २२३ जना संक्रमित थपिसँगै संक्रमित हुनेको संख्या २१ लाख ६१ हजार ४४७ पुगेको छ । महामारीले १ लाख १७ हजार ८५३ जनाको मृत्यु भएको छ भने कुल संक्रमितमध्ये ८ लाख ६७ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् ।