अमेरिकामा गोली लागेर अर्का अश्वेतको मृत्यु, यसरी भयो घटना…

काठमाडौं । एट्लान्टा प्रहरीका प्रमुखले राजीनामा दिएका छन् भने घटनामा संलग्न प्रहरीहरूलाई पदमुक्त गरिएको छ । केही साताअघि प्रहरीले आफ्नो नियन्त्रणमा लिने क्रममा मिनीयापलिसमा जोर्ज फ्लोइड नामक व्यक्तिको मृत्यु भएको थियो ।

त्यसपछि एट्लान्टामा पनि जातीय विभेद र प्रहरी बर्बरताविरुद्ध प्रदर्शन चर्किएको थियो । संयुक्त राज्य अमेरिकामा अर्का अफ्रिकी-अमेरिकीलाई पक्राउ गर्ने क्रममा गोली हानिएको घटना सार्वजनिक भएपछि प्रहरीले गर्ने अत्यधिक बल प्रयोगको फेरि निन्दा सुरु भएको छ ।

एक अश्वेत पुरुष रेशर्ड ब्रूक्सलाई शुक्रवार अबेर राति प्रहरीले गोली हानेर मारेको भिडिओ सार्वजनिक भएपछि विरोध सुरु भएको हो । घटनाको विरोधमा हजारौँको सङ्ख्यामा प्रदर्शनकारीहरू सडकमा निस्केका छन् । जातीय विभेद भएको भन्दै देशका विभिन्न स्थान तथा राजधानी वाशिङ्टन डीसीमा राष्ट्रपति भवन ह्वाइट हाउसनजिक पनि प्रदर्शनकारीहरू भेला भएको विवरण प्राप्त भएको छ ।

शुक्रवार राति के भएको थियो?
जोर्जा ब्यूरो अफ इन्भेस्टिगेशन्सका अनुसार आफ्नो कारभित्र ब्रूक्स निदाउँदा बाटो छेकिएपछि कसैले प्रहरीलाई फोनबाट सूचना दिएको थियो । प्रहरीद्वारा जारी ‘बडी क्यामरा’ फूटेजमा अधिकारीहरूले ब्रूक्सको अनुमतिमा उनले मदिरासेवन गरे वा नगरेको जाँच गरिरहेको देखिन्छ ।

त्यसपछि दुई प्रहरी अधिकारीले ब्रूक्सलाई हत्कडी लगाएको देखिन्छ र त्यही बेला उनीहरूको ‘बडी क्यामरा’ खस्छ ।त्यसपछि सुरक्षा  क्यामरामा कैद भएको दृश्यमा ती अधिकारी र ब्रूक्सबीच भुइँमा सङ्घर्ष भइरहेको देखिन्छ । त्यसपछि ब्रूक्सले एक प्रहरी अधिकारीको टेजर खोस्छन् र भाग्न थाल्छन् । ब्रूक्सलाई प्रहरी अधिकारीहरूले पछ्याइरहँदा उनी भाग्दै र पछाडि फर्कँदै प्रहरीतिर टेजर तेर्स्याउँछन् । त्यसपछि प्रहरीले उनलाई गोली हान्छन् । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *