राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक पारित हुँदै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाबाट आज संविधान संशोधन विधेयक पारित हुँदैछ । बिहान ११ बजे बस्ने बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । दफाबार छलफलपछि उनीमार्फत नै विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरिनेछ ।

विधेयक पारित गर्न राष्ट्रिय सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्ने कानुनी व्यवस्था रहेको छ । राष्ट्रिय सभामा हाल ५८ सदस्य रहेका छन् । प्रतिनिधि सभामा सर्वसहमतिले पारित भएकाले यो विधेयक राष्ट्रिय सभामा पनि पूर्ण सहमतिले पारित हुने निश्चित रहेको छ ।

यसअघि गत शनिबारको बैठकमा प्रतिनिधि सभामा दुई तिहाई बहुमतभन्दा बढी मतले विधेयक पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि संबिधान संशोधनको प्रक्रिया पूरा हुने संबैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *