नेपालको असल मित्र हो भने भारतले काँगडासम्मको जमिन फिर्ता गर्नुपर्छः दिनानाथ शर्मा 

काठमाडौं । राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले यदि नेपालको असल मित्र हो भने भारतले महाकाली नदिको पश्चिम काँगडासम्मको भूभाग फिर्ता गर्नुपर्ने बताएका छन् ।

बिहीबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । युद्धका क्रममा अंग्रेजले भूमि लुटेको भन्दै अब अंग्रेज भागिसकेको अवस्थामा नेपालको भूभाग स–सम्मान फिर्ता गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘सुगौली सन्धिको कुरा गर्ने हो भने त्यसको ५ नम्बर बुँदाले महाकाली नदी नेपालकै भएको प्रष्ट पारेको छ । त्यो सन्धि नेपालीले स्वीकार गरेको होइन, अंग्रेजका डरका कारण हामीले आफ्नो भूभाग गुमायौँ । महाकाली नदि नेपालको हो । अंग्रेजले हाम्रो भुभाग लुटेर लगेको हो ।’

नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौमिकता नेपालीको सर्वोच्चता भएको उल्लेख गर्दै उनले भने, ‘भारतको रक्षाका लागि नेपालीले रगत बगाए । भारत नेपालको असल मित्र हो । भारतले यो बुझ्नुपर्छ मित्रता बजारमा किनेर पाइँदैन । अंग्रेज त्यहाँबाट भागिसकेको अवस्थामा भारतले मित्र मानेको छ भने उसले महाकाली पश्चिम काँगडासम्मको भूभाग फिर्ता गरिदिनुपर्छ । दार्जिलिङ पनि फिर्ता दिनुपर्छ ।’

यस्तै आफ्नो राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्वभौमिकता मुटु भन्दा प्यारो भएको बताउँदै प्रधानमन्त्री लगायत यसको समर्थनमा उभिएका सबै सांसद तथा नेताहरुलाई धन्यवाद दिए ।

‘नेपालको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र रहेको छ । जुन छुट्न गएको थियो । छुटेको भुभागलाई समेट्नका लागि संविधान संशोधन हुन गएको छ । यो हाम्रो लागि गौरवको विषय हो’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *