छाउपडीबाट जोगिएकी चेली क्वारेन्टिनमा जोगिन गाह्रो भयोः सांसद ढकाल

काठमाडौं । प्रतिनिधि सभा सांसद नरमाया ढकालले क्वारेन्टिनमा महिला बलात्कार भएको विषयमा सरकारको ध्यानकर्षण गराएकी छिन् । बिहीबारको बैठकको शुन्य समयमा बोल्दै उनले महिलाका लागि क्वारेन्टिन पनि यातना गृहजस्तो भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले भनिन्– ‘कोरोनाको संक्रमणबाट जोगिन यातना गृहजस्तो क्वारेन्टिनमा बसेकी महिला बलात्कृत हुन्छे । यातना गृहजस्तो क्वारेन्टिनको अवस्थाबारे सरकारलाई थाहा छ कि छैन ?’

सांसद ढकालले महिलाहरुको लागि क्वारेन्टिनमा सुरक्षित स्थल कसरी बन्न सक्छ सरकारले केही सोचेको छ ? भन्दै प्रश्न समेत गरिन् । छाउपडीबाट जोगिएकी चेली क्वारेन्टिनमा बसेकाहरुबाट जोगिन गाह्रो भएको उनको गुनासो छ ।

यस्तै उनले पीसीआर रिपोर्ट पानीजहाज र रेल जस्तै भएको भन्दै व्यंग्य गरिन् । ‘यसै त क्वारेन्टीनमा बसेकाहरुको पीसिआर परीक्षणको रिपोर्ट त पानीजहाज र रेलजस्तो नै भइहाल्यो । कहिले आउँछ न सरकारलाई थाहा छ न अरुलाई’, उनले भनिन्, ‘कोरोना कहर सुरु भएपछि खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको बारेमा पटक पटक गम्भीर प्रश्न उठेका छन् । त्यसको सम्बन्धित निकायबाट छानविन गरी यथार्थ बाहिर आउनुपर्ने हो तर सम्माननीय प्रधानमन्त्रीज्यू न्यायमूर्ति जस्तै भएर सबैलाई निर्दोष ठहर गरिदिनुहुन्छ । हामी प्रधानमन्त्रीज्यू संसद र सिंहदरबारमा सक्रिय भएको हेर्न चाहन्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *