भारत र चीनबिच तनावः विश्वबजारमा असर गर्छ ?
काठमाडौं । पछिल्लो समय भारत र चीनबिच गम्भीर रुपमा मनमुटाव बढिरहेको छ । त्यहाँको बढ्दो सैन्य र राजनीतिक तनावले विश्वबजारमा समेत असर गर्न सक्ने अनुमान गरिएको छ ।
विश्वको दोस्रो र पाँचौँ सबैभन्दा ठुलो अर्थव्यवस्था भएका देश बिचको सम्बन्ध बिग्रँदो अवस्थामा पुगेको छ । भारतका कयौँ विश्लेषक चीनसँग व्यापारिक सम्बन्ध तोड्ने कुरा गरिरहेका छन् भने केही भावुक नागरिकहरु चिनियाँ उत्पादन तोडिरहेका छन् । यस्तो लाग्छ कि अचानक भारतको ‘दुश्मन नम्बर वान’ पाकिस्तान होइन, चीन बन्यो ।
पूर्व विदेश सचिव र चीनका भारतीय राजदूत रहिसकेका निरुपमा रावले ट्वीट गर्दै भनेका छन् कि गलवान घाटीमा भएको हिंसा भारत र चीनको सम्बन्धमा एक अहम मोड सावित हुन सक्छ । पूर्व प्रधानमन्त्री राजीव गान्धीले १९८८ मा चीन भ्रमणपछि दुई देशबिच नयाँ सम्बन्ध स्थापित गरेका थिए । निरुपमा रावका अनुसार यसलाई पुनः एकपटक चिन्तन गर्नु आवश्यक छ ।
वास्तविक सिमा नियन्त्रण रेखामा भएको हिंसा र उक्त हिंसामा मारिएका २० भारतीय सैनिकको मृत्युको कारण चीनविरुद्ध केही गुर्नपर्ने मोदी सरकारमाथि दबाब छ । सरकारी र गैरसरकारी स्तरमा यस्तो कदम उठाइएको छ जसबाट दुवै देशबिचको दुरी बढ्दै गएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भारत सरकारले आयात गर्ने ३०० यस्ता सामानहरुको सूची तयार गरेको छ, जसमा महशुल बढाउने तयारी गरेको बीबीसीले जनाएकाे छ । चीनको नाम त लिइएको छैन तर यो मानिएको छ कि चिनियाँ आयातमा कम निर्भर हुनका लागि यो कदम उठाउन लागिएको हो ।
उता कन्फेडरेशन अफ अल इण्डिया ट्रेडर्स (सीएआईटी) ले बहिष्कार गरिने ५०० भन्दा बढी चिनियाँ उत्पादनको सूची जारी गरेको छ । व्यापारी संघले भनेको छ कि उसको उद्देश्य डिसेम्बर २०२१ सम्म चिनियाँ सामानको आयात १३ अर्ब डलर अर्थात १ लाख करोड रुपैयाँमा झार्नु हो ।
पछिल्लो हप्ता चिनियाँ हेडसेट निर्माता ओप्पोले भारतमा चिनिया उत्पादनको बहिष्कारको आह्वानका बिच देशमा आफ्नो प्रमुख ५जी स्मार्ट फोन लन्चिङ रद्द गरेको थियो ।
सम्बन्ध टुटे दुवै देशलाई नोक्सान
मुम्बईमा आर्थिक मामिलाका विशेषज्ञ रघुवीर मुखर्जी भन्छन्– ‘यो दुर्भाग्यपूर्ण छ । चीनसँगको सीमा विवादलाई लिएर उठाउने कदमले भारतमा फार्मा, मोबाइल फोन र सौर्य ऊर्जा जस्ता क्षेत्रमा अड्चन पैदा हुन सक्छ ।’
कयौँ विशेषज्ञहरु आपसी दुश्मनी र टकरावमा दुवै देशको फाइदा कम नोक्सानी ज्यादा मिल्ने बताउँछन् । विशेषगरी भारतलाई बढी नोक्सानी हुन सक्ने उनीहरुको भनाइ छ ।
चीनमा सिचुआन विश्वविद्यालयका चाइना सेन्टर फर साउथ एशियन स्टडिजका कोअर्डिनेटर प्रोफेसर ह्वांग युंगसांग यो एक गम्भीर मुद्दा भएपनि सुल्झाउन कठिन नभएको बताउँछन् । उनी भन्छन्– ‘हिमालयका दुवैतर्फ हुने व्यापारलाई पुरै रोक्न वकालत गर्नु गैर जिम्मेवारी कुरा हो । विशेषगरी यस्तो समयमा जब दुवै तर्फका नेताको स्थिति शान्त गर्न र यसलाई बिग्रन नदिन प्रयास गर्नुपर्छ ।’
यदी भारत र चीनबिच तनाव चर्कियो भने दुवै देशबाहेक विश्वभरी नै यसको असर पर्छ । ‘यो हिंसा अप्रत्याशित छ र दुवै पक्षको अर्थव्यवस्थासहित अन्य क्षेत्रमा नोक्सानी हुन दिनु हुँदैन । अन्यथा केवल विश्व अर्थव्यवस्थामाथि भारी नोक्सानी मात्रै होइन प्राचिन एशिया सभ्यता (भारत र चीन) को पुनरुद्धारमा पनि अवरोध हुन सक्छ । चीन र भारतसँग यस झड्काबाट बच्ने ज्ञान र संकल्प पक्कै पनि हुनुपर्छ’, उनले भने ।