जब पर्यटनमन्त्री सहभागी ‘जुम मिटिङ’ मा पोर्न भिडियो बज्यो…
काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो आयोजना गरेको भर्चुअल बैठकमा पोर्न भिडियो बजेपछि बैठक स्थगित भएको छ । पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजित ‘जुम एप’ भर्चुअल बैठकमा छलफलका क्रममा पोर्न भिडियो बजेपछि बैठक स्थगित भएको हो ।
दिउँसो १ बजे आयोजना गरिएको उक्त भर्चुअल मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका बेला एक्कासि पोर्न भिडिओ तथा पोर्न भिडिओ आउने साइट सेयर भएको थियो । त्यसलगत्तै मन्त्रीले बोल्न छाडेपछि आयोजक पर्यटन बोर्डले सेसन अन्त्य गरेको हो ।
अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो प्ले गरेको बताइएको छ । उक्त भर्चुअल बैठकमा मन्त्रीसहित करिब २ सय जना सहभागी थिए । कसरी त्यो घटना घट्यो, ह्याकर कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।
कोरोना संक्रमणका कारण भर्चुअल संवाद माध्यमका रुपमा विश्वमा नै बढी प्रयोगमा आएको जुम एपमा पछिल्लाे समय ह्याकरहरु सक्रिय छन् । त्यसकारण पनि सुरक्षाका विषयलाई लिएर यो एपमाथि प्रश्न उठ्ने गरेको छ । जुम एपको सुरक्षात्मक पाटो कमजोर रहेको भन्दै आइटीका जानकारहरुले पनि यसको प्रयोग नगर्न चेतावनी दिँदै आएका छन् ।