रुकुमपश्चिम हत्या प्रकरणः प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका प्रदर्शनकारी पक्राउ
काठमाडौं । एकै पटक ६ जनाको हत्या भएको रुकुमपश्चिम घटनाका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।
संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा लक्ष्मी परियार, सुनिता मरिक, शर्मिला वागचन्द, सुवास सेन्चुरी, नानीमैयाँ पुरकुटी, हिक्मत महरा, लक्ष्मी थापा लगायत छन् ।
ज्ञापन पत्र बुझाउन पुग्दा प्रधानमन्त्री निवासको गेटमा प्रहरीले उनीहरुलाई लाठीचार्ज गरेको साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब, भृकुटिमण्डममा राखिएको बताइएको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते दलित केटा र मल्ल थरकी केटीबीच विवाह हुन लागेको निहुँमा ६ जना मारिएका थिए । घटनामा भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको पनि हत्या भएको थियो । उनीहरु सबैको शव भेरी नदी आसपास भेटिएको थियो ।
त्यसयता गठन भएकाे संघर्ष समितिले काठमाडौंमा नियमित आन्दोलन र विरोधका कार्यक्रम गरिरहेको छ ।