परराष्ट्रले भन्यो – चीनसँग सीमा विवाद छैन
काठमाडौँ । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्ट पारेको छ ।
चीनले नेपाली भूमि मिचेको भन्ने समाचारमा ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरेर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको अस्तित्वमा नै नरहेको रिपोर्टलाई आधार बनाएर आएका समाचारमा सत्यता नभएको जनाएको हो ।
कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने पनि उल्लेख गरेको परराष्ट्रले विज्ञप्तिमार्फत बताएको छ ।
‘नेपाल–चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ को सीमा सन्धिअनुसार निर्धारित गरिएको छ, त्यसपछिको समझदारीपत्रमा दुवै मुलुकले हस्ताक्षर गरेका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘समाचारहरूमा उल्लेख भएअनुसार हराइरहेका भनिएका चीनसँगको सीमाका स्तम्भ नम्बर ३७ र ३८ प्राकृतिक कठिनाइका कारण निर्माण नै गरिएका थिएनन् ।’
सीमासम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने पनि परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।