नेकपा स्थायी कमिटी बैठक आज, टुंग्याउला त ‘एमसीसी’ विवाद ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि बस्ने बैठकमा आजदेखि सदस्यहरुले बोल्ने क्रम शुरु हुँदैछ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरस संक्रमण लगायतको विषयमा सदस्यहरुले धारणा राख्नेछन् । दुई अध्यक्षको सम्बोधनसहित सात वटा एजेण्डामा स्थायी कमिटी सदस्यहरुले बोल्ने कार्यसूची छ । त्यसका लागि ओली र प्रचण्ड-नेपाल समूह तयारीमा छन् ।

स्थायी कमिटी बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि बढाउने भन्ने विषयमा बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । बुधबारदेखि सुरु भएको बैठकले पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र प्रचण्डले मन्तव्य राखेका थिए ।

विवाद उत्कर्षमा
एमसीसी पास गर्नुपर्ने पक्षमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अडान राखेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री ओेली एमसीसीको पक्षमा उभिँदा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहितका बहुमत नेता एमसीसीको विपक्षमा उभिएका छन् ।

जसका कारण नेकपाले लामो समय बितिसक्दासमेत एमसीसीका बारेमा निर्णय लिन सकेको छैन । सरकार सञ्चालनमा पार्टीसँग समन्वय नगरेको भन्दै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्र चर्का आलोचना हुँदै आएको छ । एमसीसी पास गर्ने पक्षमा प्रधानमन्त्री ओलीले अडान कसे पनि पार्टीभित्र एमसीसी संशोधन गरेर मात्र पास गर्नुपर्ने पक्षमा बहुमत देखिएपछि झन् तनाब बढेको हो ।

प्रधानमन्त्रीको कदमका विरुद्ध नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मोर्चाबन्दी गरेपछि पार्टीभित्रको विवाद थप पेचिलो बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *