संघर्षले खारिएका शिवहरी कुनै बेला पत्रिका बेच्ने गर्दथे

काठमाडौं। नेपाली कला जगतका लोकप्रिय हस्ती हुन् हाँस्य कलाकार शिवहरी पौडेल । ‘जिरे खुर्सानी’ नामक चर्चित टेलिश्रृंखलाका मुख्य पात्रकाे भूमिकामा देखिएका उनकाे  ‘प्वाँक मुखाँ हानु जस्तो’ दर्शकमाझ चर्चित छ । धेरै वर्ष अघि नेपाल टेलिभजनमा प्रशारित चेतनामुलक टेलिश्रृंखला ‘देवी’  मा शिवहरीले निर्वाह गरेकाे ‘पूर्णे’ अझैपनि शिवहरीलाई चिनाउने पात्र हाे ।

मकवानपुर जिल्लाको अमलेखगंजमा वि.सं. २०२३ साल बैशाख १ गते आमा गङ्गादेवी पौडेल र स्व. बुबा टिकादत्त पौडेलको कोखबाट १० औँ सन्तानको रुपमा जन्मिएका पौडेल बाल्यकालमा चकचके थिए । साथीभाई जम्मा गरेर सिजन अनुसारका फलफूलहरु चोरेर खाने गर्थे ।

साथीभाई जम्मा गरेर फलफूल खाने अनि एक छिन कतै जाने बहानामा मालिकलाई बोलाई साथीहरुलाई पिटाउने र गाली खुवाउने काम गर्थे । घरका कान्छा छोरा त्यसैपनि पुल्पुलिएका हुन्छन् उनी त झन बुबाको प्यारा थिए नमात्तिने कुरै भएन । सधै बुबाको वरिपरी घुम्न र खेल्न पाउँदा खुब रमाइलो मान्थे । बुबा जता गयो शिवहरी पनि त्यतै । बुबाले पनि उनलाई आफुसँगै लेजान्थे । एक दिन बुबा बाहिर जान लागेको देखेर शिवहरी पनि दौडिँदै बुबाको पछिपछि जादैँ थिए । तर बुवाले उनलाई देखेका थिएनन्  । शिवहरी दौडिँदै जाने क्रममा साईडबाट आएको ट्रकले उनलाई ठक्कर दियो । ट्रकको मूनि परेनन्, भाग्यले बाँचे । चाेट भने लाग्याे । टाउकोमा ८ वटा टाका लगाउनु परेको थियो । उक्त दुर्घटनामा शिवहरीको हात पनि भाँच्चिएकाे थियाे ।

४ वर्षको हुँदा मृत्युलाई जितेर आएका शिवहरी भन्छन्, ‘आज यसरी दुई चारजना मान्छेले चिन्नु रहेछ, र त मरिएन । आज पनि आमाले मरेर पनि बाँचेको छोरा भन्नुहुन्छ ।’ मध्यम वर्गीय परिवारमा जन्मिएका शिवहरीको मिठो खाने र राम्रो लगाउने चाहना भने रहरमा नै बित्यो । बुबाले खेति किसानी गर्थे भने आमाले घरधन्दा । घरमा खाने मुखहरू धेरै थिए । कमाउने आयस्राेत कम । वर्ष भरिको कमाइले पनि घर व्यवहार चलाउन शिवहरीका बुवालाई निक्कै गाह्रो हुन्थ्यो । गरिबीका कारण पनि  उनका  सबै दाजुभाई, दिदीबहीनीहरु सबैले पढ्न पाएनन् ।

स्कुले जीवन

अभावपूर्ण परिवारमा हुर्केका शिवहरीले गाउँकै निम्न माध्यमिक विद्यालयमा अध्ययन गरे । खाजा खाने पैसा पनि हुँदैन थियो । त्यतिखेर शिवहरीले १० पैसाको केराउ किनेर दुई/तीन दिनसम्मलाई पुर्याउँथे । तर, घर व्यवहार राम्रैसँग बुझेका त्यो उनको रहर होइन बाध्यता थियो ।

स्कुलमा साथीहरु खाजा खान होटेलभित्र पस्थे,  सेलरोटी र पकौडा खान्थे । तर, उनी होटलको बाहिर नै रुमलिएर बस्थे । जब साथीहरु खाजा खाएर निस्कन्थे अनि उनी पनि साथीहरुको पछिपछि लागेर कक्षा कोठामा पस्थे, ता कि अरुले देख्दा भनुन्-  यसले पनि खाजा खाएर आयो ।

मिठो खान र राम्रो लगाउन दशैं नै पर्खनुपर्थ्याे । अझ भन्ने हो भने उनले एउटा राम्रो पाईन्ट लगाउनका लागि त एसएलसीसम्म नै पर्खनुपर्यो । दाजुले एसएलसी पास गरिस् भने तँलाई नयाँ पाईन्ट किनिदिन्छु भनेर दिएको आश्वासन अझैं पनि सम्झिरहन्छन् । ‘पुस/माघको जाडो पनि भन्न पाइँदैन थियो । कठ्यांग्रिने चिसाे सहेर एउटा हाप पाईन्टको भरमा बस्नुपर्थ्याे’, शिवहरी बाल्यकालका दुःख सम्झन्छन् ।

उनी पढाइमा ट्यालेन्ट थिए । दाजुले भनेको कुरालाई मनमा राखेर मेहनत गरेर पढ्न थाले । स्कुलमा शिक्षकहरुले भनेको कुरालाई टपक्कै टिप्न सक्ने उनी अब्बल विद्यार्थीमा पर्थे । उनले गरेको मेहनत देखेर सरहरु पनि छक्क पर्थे ।

त्यतिबेला हप्ताको अन्तिम दिन अर्थात् शुक्रबार स्कुलमा साँस्कृतिक कार्यक्रम हुन्थ्याे । कक्षामा सबै विद्यार्थीहरुले केही न केही गर्नुपर्ने नियम थियो । कसैले आनाकानी गर्याे भने शिक्षकको पिटाई खानुपर्थ्याे । शिक्षकको पिटाइबाट बच्नका लागि शिवहरी टुटेफुटेको गीत पनि गाउँथे । त्यति मात्रै होईन पछिल्ला दिनहरुमा शिवहरीको गीत सुनेर मात्र स्कुल छुट्टि हुन्थ्यो । शिक्षकहरु समते उनका फ्यान थिए ।

आर्थिक समस्या भएकै कारण उनका बुवाले उनलाई ७ कक्षासम्म पढाए । त्यसपछि उनको पढाई रोकिने सम्भावना थियो तर, उनका जेठो दाजु भने सरकारी जागिरे भइसकेका कारण भाइलाई एसएलसीसम्म जसरी पनि पढाउँछु भन्नेमा थिए । दाजुको छत्रछायाँमा परि जसोतसाे टेस्ट पास गरेपछि उनी त्यहिँको आयल निगममा दिनको १० रुपैयाँ पाउने गरि काम गर्न थाले। संघर्षका बीचमा शिवहरीले ०३९ सालमा एसएलसी पनि पास गरे ।

शिवहरीले बाल्यकालमा देखेका हजारौं सपनाहरु आर्थिक अभावका कारण अधुरा र अपुरा रहे । केही सपनाहरु पूरा पनि भए । त्यस मध्ये साईकल किन्ने उनको ठूलो सपना थियो । काम गरेको २ महिनापछि उनले साईकल किने । बाल्यकालमा साइकल चढ्न पाएको कुरा उनको मानसपटलमा ताजै थियो । २ महिनाको तलबले साईकल किनेर वीरगञ्जबाट अमलेखगंज ३० किलोमिटरको बाटो हुँदै घर आएका थिए ।

उनको लागि त्यो साईकल आफ्नो प्राण जत्तिकै प्याराे थियाे । साथीहरुको साइकल ५/६ पटक लामो उकालोमा लगेपछि उनलाई जम्मा १ पटक चढ्न दिन्थे । उनलाई त्यो इख पनि थियो । यदि मेरो आफ्नै साइकल हुन्थ्यो भने म पनि धेरै चढ्न पाउँथे । त्यही इखले पनि उनले एसएलसी लगत्तैकाे कामबाट प्राप्त तलबले साइकल किने । रहर पुरा गरे ।

एसएलसीपछि बाँकी अध्ययनलाई कसरी अगाडि बढाउने ? भन्ने पिरले सताउन थाल्याे । कलेज पढ्नका लागि कि वीरगञ्ज कि हेटौँडा जानुपर्थ्याे। अहिलेको जस्तो जतासुकै कलेजहरु थिएनन् त्यतिबेला । बिडम्बना, उनको जीवनमा यस्तो मोड आइलाग्यो कि पढाइ र पैसामध्ये एक राेज्नुपर्याे । अन्ततः उनले जागिर गर्ने निधो गरे ।

काम गर्न थालेको करिब १ वर्षको अन्तरालमा उनले पढाइकाे  महत्व पनि बुझे र पढाईसँगै जागिर गर्ने सोच बनाएर काठमाडौँ हानिए । काठमाडौँ आएपछि पाटन कलेजमा भर्ना भए । अर्थशास्त्र र राजनीति शास्त्रबाट स्नातकसम्मको अध्ययन पुरा गरे ।

संघर्षका अत्यास लाग्दा ती दिनहरु

एक दिन शिवहरीले अफिसको हाकिमलाई आफ्नो अवस्था र सपनाहरु सुनाए । त्यसपछि शिवहरीलाई हाकिमले काठमाडौँमा सरुवा गरिदिए । त्यतिबेला उनको पारिश्रमिक ३५० रुपैयाँ थियो । काठमाडौँ सोचेको जस्तो सजिलो कहाँ छ र ? उनलाई काठमाडौँ आएपछि थप आर्थिक संकट पर्न थाल्याे । प्राण जत्तिकै प्यारो साइकल पनि बेच्नुपर्यो । बिहान कलेज जान्थे अनि कलेजबाट फर्किएर पत्रिका बेच्थे । पत्रिका बेचेर दैनिक ४० रुपैयाँ कमाउँथे । जागिरको र पत्रिका बेचेको पैसाले उनले आफ्नो गुजारा चलाएका थिए ।

चम्सुर पालुंगोेको सागमा पिठो मिसाएर छाक टारेका कयाैँ दिन पनि छन् । काठमाडौँमा टिक्न निक्कै गाह्रो भएपछि गाउँ नै फर्किए । तर आमाले बोको बेचेर फेरि काठमाडौँ नै पठाइदिइन् । शिवहरी दोस्रो पटक काठमाडौँ आएपछि चिनेजानेका उद्योग प्रसाद पोखरेलको सहयोगमा राष्ट्र बैङ्कका जागिरे भए । उनको मासिक तलब ७१० रुपैयाँ थियो । त्यसपछि भने उनी काठमाडौँमा टिक्न सक्ने भए । राष्ट्र बैंकमा ३० वर्षसम्म काम गरे ।

अवसरमा बद्लिएकाे बाल्यकालकाे त्याे रहर

स्नाकोत्तर पढ्दा पढ्दै कलाकारितामा होमिएका शिवहरीको सानैदेखि गायक बन्ने ठूलो रहर थियो । एक दिन शिवहरी आफ्ना साथी बद्री महतको लहैलहिमा लागेर रेडियो नेपाल हानिन्छन् हानिए । त्यसै क्रममा उनले एउटा गीत रेकड गर्ने अवसर पनि पाए । अभिनयमा पनि रहर भएका शिवहरीलाई एक दिन उनका अर्का साथी केदार कार्कीले अभिनय सिक्न सुझाव दिए । त्यसपछि उनी राजधानीको बागबजार स्थित अभिनय कला केन्द्रमा भर्ना भए । अभिनय सिक्न गएको १०/१२ दिनमै निर्देशक लय संग्रौलाले बनाउन लागेको टेलि चलचित्र ‘उ एक्लो छैन’ मा जाेडिने अवसर पाए ।

त्यसपछि निर्देशक संग्रौलाले बनाउने सबै टेलि चलचित्रमा काम गर्ने माैका पाए । यसै क्रममा कलाकार सरोज खनालसँग उनको भेट भयो । ०४८ सालमा उनले ठूलो पर्दाको चलचित्र ‘बिजय पराजय’ मा अभिनय गर्ने अवसर पाए । ठूलो पर्दाको चलचित्र खेल्न पाउँदा उनको खुशीको सीमा नै थिएन । उनले आफ्ना साथीभाई, आफन्त सबैलाई आफूले ठूलो पर्दाको चलचित्र खेलेको कुरा सुनाउँथे । त्यसपछि साथीभाईहरु उनलाई हेर्नका लागि फिल्म हलसम्म जाने गर्थे ।

बिडम्बना त के भयो भने उनले खेलेको त्यो सानो सिन काटिएको थियो । चलचित्र लामो भएपछि उनले खेलेको सिन काटिएको हाे । साथीभाईको अगाडी आफ्नो बेइजत भएपछि उनका आँखा रसाएका थिए । हलबाट लज्जित हुँदै बाहिरिँदै गर्दा उनले अबदेखि ठूलो पर्दाको फिल्म नै नखेल्ने अठोट समेत गरे ।

अवसर जुर्दै जाँदा पछि युनिसेफ नेपालले निर्माण गरेको टेलि चलचित्र ‘देवी’ मा पुर्णेको भूमिकामा देखिए । त्यसपछि उनले कहिल्लै पछाडी फर्केर हेर्नु परेन, जबदेखि उनी दर्शककाे नजरमा पर्न थाले । माग पनि बढ्न थाल्यो । पारिश्रमिक पनि पाउन थाले ।  त्यो भन्दा पहिला २०४४ सालदेखि २०५२ सालको बीचमा उनले बिना पैसामा काम गरेका थिए ।

त्यसपछि निर्देशकहरुले पनि उनले भने जति पैसा दिन थाले । यता राष्ट्र बैंकको जागिर, उता कलाकारिताको मागले गर्दा उनलाई समय मिलाउन गाह्रो भयो । ८ वर्ष लामो कलाकारिताको यात्रापछि उनले आफूले भने जति पारिश्रमिक पाउन थालेका हुन् । त्यसपछि उनले जिरे खुर्सानी, ब्रेक फेल जस्ता टेलिचलिचत्र निर्माण तथा निर्देशन पनि गरे ।

बैैवाहिक जीवन

सर्लाहिकी लक्ष्मी खड्का र शिवहरी एउटै घरमा बस्थे । लक्ष्मी आफ्ना दाजुसँग पढ्न बसेकी थिइन् । लक्ष्मीका दाजु र शिवहरी साथी थिए । भनिन्छ नि, ‘नचिनेसम्म को हो को हो ? चिनेपछि माया मोह’ । चिनजानपछि शिवहरी र लक्ष्मीबीच दैनिक भेटघाट हुन थाल्यो । बोलचाल र हाँसखेल हुन थाल्यो । प्रेम बस्याे ।

एकदिन शिवहरीले लक्ष्मीलाई चिठी लेखेर दिए । चिठीको रिप्लाई नआएपछि शिवहरीको मनमा चिसो पस्न थाल्यो । अनेकन कुराहरुले बुर्कुसी मार्न थाले । ५/७ दिनपछि लक्ष्मीले पनि घुमाउरो रुपमा चिठीको रिप्लाई दिइन् । लक्ष्मीले पनि चिठीमा मन परेको कुरा लेखेकी थिइन् । शिवहरीसँग प्रेममा परेको थाहा पाएपछि दाजुले लक्ष्मीलाई घर पठाइदिए ।

केही समयपछि दिदी काठमाडौँ आउने भएपछि लक्ष्मी फेरि काठमाडौँ आइन् र शिवहरी कहाँ गइन् । त्यसपछि भने लक्ष्मीका दाजुले पनि उनीहरूकाे बिवाहमा सहमति जनाए । लक्ष्मीको मिजासिलो बानीबाट प्रभावित बनेका शिवहरीले आफूले रोजेको प्रेम पाए । २०५५ सालमा दक्षिणकाली मन्दिरमा उनीहरुले बिवाह गरेका हुन् । उनीहरूकी एउटी छोरी छिन् जाे अहिले उच्च शिक्षाका क्रममा अमेरिकामा छिन् ।

कलाकारिता यात्रा,  सम्मान र पुरस्कार

शिवहरीले जीवनको उषाकालमा जे जस्ता दुःख र अभावहरुसँग भिड्नु परेपनि पछिल्ला दिनहरुमा लाेकप्रिय कलाकारमा गनिन्छन् । कलाकारिताको यात्रामा लागेर नाम, दाम र काम पाउने भाग्यमानी कलाकार पनि हुन् उनी । उनको कामलाई उच्च सम्मान गर्दै देश तथा विदेशमा रहेका अनेकौं संघ संस्थाले सम्मान गरेका छन् ।

नेसनल फिल्म अवार्ड, नेसनल जेसिस अवार्ड, खुम्बुकोचा सिने, अवार्ड, कलिउड अवार्ड, उत्कृष्ट अभिनय अवार्ड, नेसनल टेलिचलचित्र अवार्डल गायतका दर्जनौं अवार्ड तथा सम्मानहरुबाट उनी सम्मानित भइसकेका छन् ।

कार्यक्रमको सिलसिलामा चीन, भारत, बंगलादेश, थाइल्याण्ड, कतार, युएई, दकोरिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, कुवेत, बहराइन, जापान, क्यानडा, रसिया, बेल्जियम, नेदरल्याण्ड, जर्मन, फ्रान्स, नर्वे, डेनमार्क, युके, साउदी अरव, स्वीडेन अमेरिकालगायतका विभिन्न मुलुकमा पुगिसकेका छन् शिवहरी ।

उनले आजका दिनसम्म आइपुग्दा ४१ भन्दा बढी ठूलो पर्दाको चलचित्र र ७० भन्दा बढी टेलिचलचित्रमा अभिनय गरिसकेका छन् । ‘विजय परजाय, दुुश्मन, आबारा, करोडपति, उपकार, चमत्कार, घाम छाँया, वसन्तऋतु, माेहनी लाग्ला है, बादल पारी, आफ्नो घर आफ्नो मान्छे, कलियुग, मितिनी, मजदुर, मातृभूमि, छ माया छपक्कै, वडा नम्बर छ, छक्का पन्जा लगायतका चर्चित चलचित्रमा अभिनय गरिसकेका शिवहरीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘लक्का जवान’ कोरोनाको कारण प्रदर्शन हुन सकेकाे छैन ।

त्यस्तै ‘देवी, जिरेखुर्सानी, उ अब एक्लो छैन, घरभित्रको दुस्मन, आमाको माया, पिँजडा, हारजित, बनदेवी, भाँडभैलो, मदन बहादुर हरिबहादुर, सन्देशलगायतका ७० भन्दा धेरै टेलिचलचित्रहरुमा पनि शिवहरीले जोडदार भूमिका निभाइसकेका छन् । समसामयिक, राजनीतिक तथा अन्य सामाजिक सन्देशमुलक स्टेज कार्यक्रमहरु गर्दै आएका शिवहरी अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *