३४ वर्ष अगाडीको जग्गा विवादमा पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफविरुद्ध मुद्दा दायर

लाहोर । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् ।

उनीसँगै अरु तीन जनलाई पनि ३४ बर्ष अगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्वन्धी काम कानुन विपरित गरेको भन्दै दोषी दावी गरेर मुद्दा दायर गरिएको हो ।
स्वास्थ्य उपचारका क्रममा अहिले बेलायतको लण्डनमा रहेका ७० बर्षीय शरिफलाई पक्राउ पुर्जी पनि जारी गरिएको छ ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भएका शरिफलाई यस अघि भ्रष्टाचारसम्वन्धी अन्य मुद्दा पनि लगाइएको छ । अहिलेको मुद्दामा उनीसँगै दोषी दावी गरिएकामा जङ्ग÷जेओ मिडिया ग्रुपका सञ्चालक मिर शकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्व निर्देशक हुमायुन फइज रासुल र पूर्व भूमि निर्देशक मिअन बसिर रहेका छन् ।

सन् १९८६ मा शरिफ पञ्जाबको मुख्यमन्त्री भएका थिए। मुख्यमन्त्री रहेको समय उनले अवैध तरिकाले मिर शुकिलुर रहमानलाई लाहोरको केही जग्गा दिलाउनु भएको दावी गरिएको छ । सो कार्य गर्दा शरिफ र दुई जना सरकारी उच्च अधिकारीले कानुनको उलङ्घन गर्दै शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

अन्य मुद्दासमेतमा आरोप लागेर दण्ड सजाय भोगेका शरिफले उपचारका लागि अदालतले अनुमति दिएपछि गत नोभेम्बरमा लण्डन गएका हुन् ।

उनले उपचार गर्न चार हप्ताका लागि मात्रै अनुमति पाएपनि अहिलेसम्म बसिरहेका छन् । शरिफकी श्रीमतीको पनि दुई बर्ष अगाडि उपचारकै क्रममा लण्डनमा निधन भएको थियो ।पीटीआई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *