भारत–चीन सीमा विवादः चीनले पठायो सीमामा रहेका सैनिकलाई प्रशिक्षण दिन मार्सल आर्टका २० प्रशिक्षक

काठमाडौं । चीन–भारत सीमा विवाद चर्किँदै गर्दा चीनले तिब्बती पठारमा आफ्ना सैनिकलाई तालिम दिनका लागि मार्सल आर्टका २० प्रशिक्षकलाई पठाउने भएको छ । यद्यपी तालिमको कारण भने खुलाइएको छैन ।

चीनको सरकारी टेलिभिजन सिसिटिभीका अनुसार इनबो फाइट क्लबका २० प्रशिक्षकहरु तिब्बतको राजधानी ल्हासामा बस्ने गरेको जनाइएको छ । तर चिनियाँ सञ्चारमाध्यमले ती प्रशिक्षकले भारतसँगको सीमामा रहेका सैनिकलाई प्रशिक्षण दिएको वा दिइरहेको भन्ने कुरा पुष्टि गरेका छैनन् । आर्मीलाई तालिम दिन मार्सल आर्टका प्रशिक्षक पठाइने सम्बन्धी खबर चीनको आधिकारिक सञ्चारमाध्यमले जुन २० मा प्रकाशित गरेको हङकङका सञ्चारमाध्यमले जनाएका छन् ।

जुन १५ को राति भारतको पूर्व लद्दाखसँग सीमा जोडिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय सैनिक र चीनका सैनिकबिच भिडन्त हुँदा २० जनाको मृत्यु भएको थियो । सो घटना लगतै चीनले लिएको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सो भिडन्तमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो । चीन तर्फ पनि हताहती भएको अनुमान गरिएको छ, तर चीनले अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी दिएको छैन । चीनले गलवान उपत्यकाबाट भारतीय सैनिक तथा पोस्टहरु हटाउनु पर्ने माग समेत गरेकाे थियाे ।

सन् १९९६ मा भएको सम्झौता अनुसार एलएसी क्षेत्रमा सुरक्षाका लागि खटिने दुवै तर्फका सैनिकले बन्दुक वा बिस्फोटक पदार्थ बोक्न पाउँदैनन् । तर भारतले हालकै भिडन्तपछि अवस्था हेरेर हतियार प्रयोग गर्न पाउने गरी सेनालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *