वीपीका चिकित्सकले २४ घण्टाका लागि रोके आन्दोलन
धरान । तलब बृद्धिमा चित्त नबुझाउँदै आन्दोलनमा उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् । प्रतिष्ठानका पदाधिकारीहरुले आन्दोलनरत चिकित्सकहरुको मागलाई संवोधन हुने गरी निर्णय हुने भनेपछि उपकुलपति कार्यालय अगाडी धर्नामा उत्रिएका चिकित्सकहरु २४ घण्टाका लागि ब्याक भएका हुन् ।
मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेलफेयर सोसाइटीको नेतृत्वमा आन्दोलनरत चिकित्सक र प्रतिष्ठानका पदाधिकारी विचको वार्तामा शिक्षक चिकित्सकहरुको मागलाई संवोधन हुनेगरी निर्णय हुने भन्दै उपकुपति डा. ज्ञानेन्द्र गिरीले संवोधन गरेपछि उनीहरुले २४ घण्टाका लागि आन्दोलन स्थगित गरेको बताएका छन् ।
समान तलबमानको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुसँग वार्ता गर्न प्रतिष्ठानका उपकुलपति डा. गिरीसँगै अस्पताल निर्देशक डा. गौरिशंकर शाह तथा शिक्षाध्यक्ष डा. गुरु खनाल वार्तामा बसेका थिए । यता शिक्षक चिकित्सकको तर्फबाट सोसाइटीका अध्यक्ष विष्णु पोखरेल लगायत बसेका थिए ।
सोसाइटीले २४ घण्टा भित्र माग संवोधन हुने गरी निर्णय नगरे अझ शशक्त आन्दोलन गर्ने जनाएको छ ।
४३ औं सिनेटले प्रतिष्ठानको आन्तरिक आम्दानीबाट शिक्षक, कर्मचारी तथा चिकित्सकको तलबमानको २० प्रतिशत तलब बढाउन सकिने निर्णय गरेको थियो । सोहि आधारमा हिजो उपकुलपति डा. गिरीले त्यहाँ कार्यरत शिक्षक कर्मचारी र चिकित्सकहरुलाई १०, १५ र २० प्रतिशतका दरले तलबमान बृद्धि गर्ने निर्णय गरेका थिए ।
प्रतिष्ठानले ५ बर्षदेखि सरकारले बढेको तलव खुवाउन सकेको थिएन । ५ बर्षपछि सिनेट बैठकको निर्णय अनुसार उपकुलपति डा. गिरीले बढेको तलव खुवाउन लागेका हुन ।