नागरिकता विधेयक खारेजको माग राख्दै विराटनगरमा जसपाको विरोध प्रदर्शन
सुजता लिम्बू-
विराटनगर । नागरिकता संशोधन विधेयक तत्काल खारेजको माग राख्दै विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । नागरिकता विधेयक विरुद्ध जनता समाजवादी पार्टी मोरङले सरकारले ल्याएको नागरिकता विधेयक राष्ट्रघाती भएको भन्दै तत्काल खारेज गर्न माग राख्दै मङ्गलवार विराटनगरमा विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा जनता समाजवादी पार्टीका केन्द्रीय तथा प्रदेशसभा सदस्य जयराम यादव, विद्यार्थी नेता कमल पोखरेल, समाजवादी पार्टीका तत्कालीन प्रदेशसभा सदस्य केदार धिमाल लगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
विराटनगरस्थित संसारीमाई स्थानबाट सुरु भएको उक्त विरोध ¥यालि विराटनगर बजार परिक्रमा गरी ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उक्त कोणसभालाई सम्बोधन गर्दै समाजवादी पार्टीका तत्कालीन प्रदेश सभा सदस्य केदार धिमालले विगत देखि नै आदिवासी जनजाति, महिला, दलित सम्पूर्ण समुदायलाई कानुन बनाएर राज्यले विभेद गरिरहेको बताए । उनले विभेदित कानुनको विरोध गरेनौँ भने यो देशका शासकहरूले विभेदपूर्ण कानुन बनाएर आफ्नै शासन गर्नका लागि मात्रै योग्य शासनहरू ल्याउने प्रयत्न गर्ने छन् ।
त्यस्तै कोणसभामा बोल्दै पार्टीका केन्द्रीय सदस्य रन्जु बर्माले जनताको विरुद्ध कुनै विधेयक पास भए आगो लगाइदिने चेतावनी दिएकी छन् ।
उक्त विरोध प्रदर्शनमा विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि लागू गर, राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता र स्वाभिमानको रक्षा गर, लैङ्गिक विभेद र असमानता अन्त्य गर जस्ता नारासहितका प्लेकार्ड बोकेर चर्को नाराबाजी गरिएको थियो ।