नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरूले प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिन माग गरेका छन् । मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चौथो स्थायी कमिटी बैठकमा बोल्दै नेताहरूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।
राजीनामा माग गर्नेमा अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्त, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गोकर्ण विष्ट, पम्फा भुसाल, युवराज ज्ञवाली, भीम आचार्य थिए ।
उनीहरूले प्रधानमन्त्री ओलीको कारण पार्टी र सरकार दुवै अप्ठ्यारोमा परेको भन्दै राजीनामा माग गरेको एक स्थायी कमिटी सदस्यले बताए ।
बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भारतीय राज्य संयन्त्र सरकार ढाल्न लागेको नभई पार्टीले नै राजीनामा मागेको बताएका थिए । उनले प्रधानमन्त्रीको कारण सरकार र पार्टी अप्ठ्यारोमा परेको भन्दै दुवै पदबाट राजीनामा दिएर निकास दिन आग्रह गरेका थिए ।
त्यस्तै, यसरी पार्टी र सरकार नचल्ने भन्दै वरिष्ठ नेता खनाल र वरिष्ठ नेता नेपाल तथा उपाध्यक्ष गौतमले पनि दुवै पदबाट राजीनामा दिन आग्रह गरेका थिए ।