प्रधानमन्त्रीका विकल्पः संकटकाल, संसद विघटन वा संसदीय बहुमत

काठमाडौं । दुई अध्यक्ष सहित लगातार पार्टीभित्र देखिएको मतान्तर हल गर्न सत्तारुढ दल नेकपाको आज बस्ने स्थायी कमिटि बैठकले ठोस निर्णय गर्न सक्ने आंकलन गरीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै चलाउन नसकेको निष्कर्ष निकाल्दै नेकपाका अधिकांश स्थायी कमिटि सदस्यहरुले राजिनामा माग गर्दा प्रधानमन्त्री संकटमा परेका छन् ।

मंगलबारको स्थायी कमिटि बैठकमा बोल्ने १८ जना मध्ये १७ जना सदस्यहरुले प्रधानमन्त्री ओलीको राजिनामा मागेपछि सत्तारुढ नेकपा भित्र दुई अध्यक्ष विचको रडाँको चरमोत्कर्षमा पुगेको छ । र, दुई अध्यक्षविचको अन्तरद्वन्द्वले नेकपालाई विभाजनको खाडलमा पुर्याउने सक्ने परिस्थिति बनेको छ ।
नेकपाको ४४ सदस्यीय स्थायी कमिटिमा १७ जनाले मात्रै राजिनामा मागेका हैनन् । हिजो दिउसो झम्सिखेल बैठकमा सहभागी भएका ३१ जना स्थायी कमिटि सदस्यहरु प्रधानमन्त्रीले पार्टी र सरकारबाटै राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताएका छन् ।

झम्सिखेल बैठकमा सहभागी भएका बहुमत सदस्यहरुले ओलीको नेतृत्वमा पार्टी र सरकार दुवै चल्न नसक्ने निष्कर्ष निकालेको एक स्थायी कमिटि सदस्यले बताए । उक्त बैठकमा पार्टीले जे निर्णय गर्छ त्यसमा ओलीले सहमती जनाउने प्रतिबद्धता गर्नुपर्ने कुरा उठेको छ । ‘आज विहान पार्टी अध्यक्ष प्रचण्डले अन्य स्थायी कमिटि सदस्यहरुसँगको छलफल पश्चात सर्वसम्मत रुपमा निर्णय हुन सकेन भने बहुमतको निर्णय हुने छ ।’ एक स्थायी कमिटि सदस्यले मकालु खबरसँग भने ।

स्रोतका अनुसार बैठकमा नेताहरुले अब प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग छलफलका लागि पनि शर्त राख्ने भएका छन् । ‘पार्टीले जे निर्णय गर्छ, त्यो मान्छु भनेर आउनुभयो भने उहाँसँग छलफल हुन्छ ।’ स्रोतको भनाई छ । पार्टीमा छलफल गरेर सकेसम्म सर्वसम्मत, नभए बहुमतले निर्णय गर्ने उनको दाबी छ ।

४४ सदस्यीय स्थायी कमिटीका बहुमत नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजिनामा गराउने निर्णयमा पुगेपछि उनको प्रधानमन्त्री र अध्यक्ष दुवै पद धरापमा परेको छ ।

हिजो विहान केपी ओलीले बोलाएको भेलामा सहभागी भएका पूर्वमाओवादीका नेताहरु गृहमन्त्री रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणि थापा पनि प्रचण्ड/माधव समूहको बैठकमा सहभागी भएका थिए । त्यस्तै अर्का मन्त्री घनश्याम भुसाल पनि थिए । प्रचण्ड/माधव समूहको दाबीअनुसार महासचिव विष्णु पौडेल लगायतका ओली पक्षमा रहेको अरु नेताहरु पनि बहुमत सदस्यहरुको पक्षमा आउने सम्भावना छ ।

प्रचण्डले अहिले बिहान संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतका नेताहरुसँग पनि घनिभूत छलफल गर्ने तय भएको छ ।

झम्सिखेल बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय झलनाथ खनाल र बामदेव गौतम स्थायी कमिटि सदस्यहरु रामबहादुर थापा बादल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेलको सहभागिता रहेको थियो ।

यसैगरी रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल समेतको सहभागिता रहेको स्रोतको दागि छ ।

झम्सिखेलमा प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमहरुबारे पनि छलफल भएको थियो । प्रधानमन्त्रीसँग संकटकाल लगाउने, संसद विघटन गर्ने वा संसदीय दलमा बहुमत जुटाउने तीनवटा विकल्प रहेको र उनले त्यसको प्रयास गर्न सक्ने आंकलन गरीएको छ ।

प्रधानमन्त्रीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग लगातारको भेटघाटले संकटकाल लगाउन खोजिएको त होइन भन्ने आशंका उब्जिएको छ ।

नेकपा संसदीय दलमा रहेका १७४ सांसद मध्ये अधिकांश सांसदहरु प्रचण्ड र माधवकुमार नेपाल समूहसँगै भएकोले प्रधानमन्त्रीले बहुमत पुर्याउन नसक्ने प्रचण्ड र नेपाल पक्षको दाबी छ ।

प्रधानमन्त्रीले स्थायी कमिटिमा आफुबाट सरकार सञ्चालन र पार्टी सञ्चालनमा भएका कमजोरी सच्याउँदै आत्मलोचना गरेको खण्डमा पनि स्थायी कमिटि लचिलो बन्न सक्ने अवस्था देखिएको छ । अहिलेको परिस्थितिमा सरकार परीवर्तन गर्नु उचित नरहेको अधिकांश केन्द्रीय सदस्यहरुको धारणा रहेकोले बरु एक व्यक्ति एक पदमा जाने, सरकारमा काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर मन्त्रीमण्डल पुर्नगठन गर्ने विषयमा पनि छलफलको लागि बाटो रहेको एक केन्द्रीय सदस्यले बताए ।

‘४४ सदस्यीय स्थायी कमिटि मात्रै सबथोक हैन, राष्ट्रियताका विषयमा ओलीले जत्तिको कसैले काम गरेका छैनन्, यो बेला उनलाई सरकारबाट हटाउनु भनेको नेकपाको राजनीति समाप्त हुनुपनि हो हामी त्यो पक्षमा छैनौं ।’ ती सदस्यले मकालु खबरसँग भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *