‘प्रधानमन्त्रीले एकाधिकार खोज्नुभयो, मेरो अपमान भयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकाधिकार जमाउन खोजेको भन्दै ओली पक्षका नेताहरुसँग गुनासो पोखेका छन् ।

खुमलटारस्थित आफ्नै निवासमा छलफलका लागि ओली पक्षका नेताहरुलाई बोलाएका प्रचण्ड आफैँले ती नेताहरुसँग गुनासो पोखेका हुन् । अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै छलफलमा उपस्थित एक नेताले भने, ‘मैले सहमति खोजेँ, प्रधानमन्त्रीले पार्टीभित्र एकाधिकार खोज्नुभयो । अडान र सहमति छोड्नु नै मेरो कमजोरी भयो । मेरो अपमान भयो ।’

त्यहाँ उपस्थित ओली पक्षका नेता सुवास नेम्वाङले नेकपाभित्रको विवादको परिस्थिति सोचेभन्दा गम्भीर रहेको बताए । ‘अहिले नै के हुन्छ भनेर बताउन सकिने अवस्था छैन । परिस्थिति सोचेभन्दा गम्भीर छ । प्रचण्डले अढाइ वर्ष अनुभूत गरेको कुरा खुस्त पार्नुभयो’ उनले भने ।

झण्डै साढे तीन घण्टा चलेको छलफलमा प्रचण्डले आफूले ह्युमिलेट फिल गरेको बताएको पनि नेम्वाङले जानकारी दिए । पार्टीभित्रका समस्या सबै नेताहरु एक ठाउँमा बसेर हल गर्नुपर्ने नेम्वाङकोे भनाइ छ ।

बुधबार ओलीले आफू पक्षका नेताहरुलाई बालुवाटार बोलाएपछि प्रचण्डले भोलिपल्ट बिहीबार ओली पक्षका नेताहरुसँग छलफल गरेका हुन् । उनले आफ्नो गल्ती भएको भए सच्याएर अगाडी बढ्ने समेत प्रतिबद्धता जनाएका छन् ।

दुबै अध्यक्षका कमजोरी औंल्याए पार्टीमा निष्कर्ष निकाल्न सजिलो बताउँदै प्रचण्डले भने, ‘तपाईंहरूले मेरा कमजोरी औंल्याइदिनुस् र अर्का अध्यक्षका कमजोरी पनि औंल्याइदिनुस् । त्यसो भयो भने एउटा निष्कर्ष निस्कन्छ ।’

पछिल्लो समय प्रधानमन्त्रीको भारतविरोधी अभिव्यक्तिलाई लिएर नेकपाभित्र विवाद चर्किएको छ । स्थायी समिति बैठकमा पनि अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *