विश्वभर ६४ लाख ३३ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ६४ लाख ३३ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६४ लाख ३३ हजार ९ सय ६३ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख ३३ हजार ३८४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड १३ लाख ७८ हजार ९७९ छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ३२ हजार ३१८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २९ लाख ३५ हजार ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार १ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २५४ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १५ लाख ७८ हजार ३७६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १११ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ३६५ पुगेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घ(टामा थप ६१० जनाको मृत्युभएसँगै मृत्यु हुनेको संख्या १९ हजार २७९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार १५ जना नयाँ संक्रमित थपिएका छन् ।