केन्द्रीय कमिटी बोलाउन माग, सुरु गरियाे हस्ताक्षर संकलन अभियान

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु गरिएको छ । पार्टी फुटको संघारमा पुगेपछि केन्द्रीय सदस्यहरूले हस्ताक्षर संकलन अभियान चलाएका हुन् ।

बैठक माग गर्ने ५३ केन्द्रीय सदस्यले शनिबार जुम मिटिङ गरेका थिए। ४५ सदस्यीय स्थायी समितिले भन्दा ४४१ जनाको केन्द्रीय समितिले झन् सुझबुझका साथ पार्टीभित्रको समस्या समाधान गर्न सक्ने भन्दै हस्ताक्षर अभियान चलाउने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । २५ प्रतिशत अर्थात् ११० जना सदस्यले हस्ताक्षर गरे केन्द्रीय समिति बैठक बोलाउनु पर्ने नेकपाको विधानमा उल्लेख छ । अहिलेसम्म १०० बढी नेताले हस्ताक्षर गरिसकेका छन् ।

नेकपा स्थायी कमिटिमा अधिकांश सदस्यले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा मागेपछि पार्टीभित्र विवाद चुलिएको हो । अध्यद्वय ओली र पुष्पकमल दाहालबीच पटक पटक वार्ता भएपनि निर्णय आउन सकेको छैन । दुवै अध्यक्षले आ–आफ्नो अडान नछोड्दा निर्णय हुन नसकेको हो ।

दुई अध्यक्षबीचको आज भएको वार्तामा भने पार्टी एकता जोगाउनेमा जोड दिइएको छ । विगतमा भएका असमझादारीका आधारमा सहमति खोज्ने, असमझदारी बढाउने गतिविधि नगर्ने सहमति बैठकमा भएकाे छ । ओली र प्रचण्डबीच झण्डैँ डेढ घन्टा छलफल भएको थियो ।

छलफलमा ओलीका तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र शङ्कर पोखरेल तथा प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए । दुवै अध्यक्षद्वय भोलिको स्थायी समितिको बैठकअघि पुनः एक पटक छलफलमा बस्ने छन् । स्थायी समिति बैठक बिहान ११ बजे बस्दैछ । भाेलिकाे बैठकबाट थप सहमति जुट्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *