नेताहरुले गाईजात्रा देखाउनुहुँदैन्, ओलीले सरकार र प्रचण्डले पार्टी चलाउनुपर्छ : प्रसाई

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य एन. के. प्रसाईले नेताहरुले विवेक प्रयोग गर्नुपर्ने बेला आएको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रसाईले पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने एजेण्डा नभएको सुनाए ।

तर, प्रधानमन्त्री ओलीले मदन जयन्तीमा आफूलाई भारतले हटाउन खोजेको र भारतको उक्त खेलमा नेकपाका नेताहरुको सहभागिता रहेको भनेर दिएको अभिव्यक्तिका कारण नेताहरुले राजीनामा मागेको उनको स्पष्टोक्ति थियो ।

उनले भने,‘प्रधानमन्त्रीले स्थायी कमिटीको बैठकमा आत्माआलोचना गर्नुपर्छ । उनले अब सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी चलाउनुपर्छ । यसरी सहमति गर्नुपर्छ ।’ उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिँदै त्यसको लागि पार्टी एकताताका गरिएको ५ बुँदे सहमति पालना गर्नुपर्नेमा जोड दिए । उनले भने,‘नेताहरुले संयमतापूर्वक एकतामै जोड दिनुपर्छ । त्यसको विकल्प छैन् ।’

उनले ओलीले मेरो गोरुको बाह्रै टक्का गरेर प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्न नमाने अर्का अध्यक्ष दाहालले महाधिवेशनसम्म त्याग गरेर महानता देखाउनुपर्ने सुनाए । ‘यसो गर्दा जनता र आम पार्टी पँक्तिमा पनि प्रचण्डको राम्रो मूल्यांकन हुन्छ । अब पार्टीमा नेताहरुले गाईजात्रा देखाउनुहुँदैन् ।’–उनले थपे ।

पार्टी र सरकारको अहिलेको प्राथमिक मुद्दा राष्ट्रिय स्वाधिनताको रक्षा हुनुपर्ने उनको भनाई छ । अहिलेपनि नेपालको भूमी भारतले कब्जा गरेको भन्दै ती भूमि फिर्ता ल्याउन सबै एकजुट हुनुपर्ने उनले बताए ।

उनले भने,‘अहिले हाम्रो प्राथमिक मुद्दा स्वाधिनता हुनुपर्छ । भारतसँग द्धिपक्षीय वार्ता हुनुपर्छ । पटक पटक वार्ता गर्नुपर्छ । यदि विवाद हल हुँदै नभए हामीले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । नैतिक समर्थनको लागि अपिल गर्नुपर्छ । कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ ।’ उनले स्वाधिनताको रक्षा नगरीकन समाजवादको कुरा गर्न नसुहाउने पनि तर्क गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *