बाख्राका बाउ पत्ता लगाउन माग गर्दै अदालतमा मुद्दा हालेपछि…
अमेरिकामा एकजना महिलाले बाख्राको पितृत्व पत्ता लगाउन माग गर्दै अदालतमा मुद्दा हालेकी छिन् । क्रिस हेड्सट्रोमले गत महिना आफ्ना छिमेकी हेथर डेनरमाथि मुद्दा हालेकी हुन् ।
गत डिसेम्बरमा क्रिसले छिमेकी साथी डेनरसँग ९ सय डलरमा पाँचवटा नाइजेरियन पुड्का नश्लका बाख्रा खरिद गरेकी थिइन् । कि त बाख्राको वास्तविक पिता पत्ता लगाउनका लागि डीएनए परीक्षण गराउनुपर्ने कि त आफूलाई क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।
अदालतमा दायर गरिएको मुद्दामा आफूले खरिद गरेका बेल्ला, गिगी, रोजी, जेल्डा र मार्गोट नामका बाख्राहरुलाई अमेरिकाको डेरी गोट एसोसिएसनमा दर्ता गर्नका लागि डीएनए परीक्षण हुनुपर्ने उनको माग छ । बाख्राहरु दर्ता गर्दा उनीहरुको पुस्ताको विवरण खुलाउनुपर्ने हुन्छ । त्यसरी दर्ता गरिएका बाख्राहरुको मूल्य दर्ता नगरिएको भन्दा उच्च हुन्छ ।
बाख्रा बिक्रेता डेनरले चाहिँ आफ्नो बाख्रा फार्मबाट विगत १० वर्षदेखि बाख्रा बेचिरहेको र ग्राहकहरुलाई बिक्री गरेका बाख्राहको दर्ताका लागि आवश्यक जानकारीहरु उपलब्ध गराउने गरेको बताएकी छिन् । उनका अनुसार ती बाख्राहरुको पिताको दर्ता भैसकेको छ ।
तर डेरी गोट एसोसिएसनले चाहिँ डेनर आफ्नो संस्थाको सक्रिय सदस्य नभएको भन्दै उक्त फार्मबाट उत्पादित बाख्राहरुको दर्ता नहुने बताएको छ । बाख्राको पितृत्व यकिन गर्न डीएनए टेष्ट गर्नका लागि पिता बोकाको ४० वटा जरैसितका रौँ चाहिन्छन् । त्यसैले हेडस्ट्रोमले डेनरलाई डीएनए परीक्षण गराउनका लागि माग गर्दै फेब्रुअरीमा पत्र लेखिन् । डेनरले भने त्यस्तो आग्रह अस्वीकार गर्दै बरु बाख्रा फिर्ता गर्न आग्रह गरिन् । तीन महिनादेखि हेडस्ट्रोमले आफ्नो बाख्रा फार्ममा पुलिसलाई बोलाएर हैरान गराउने गरेको डेनरले गुनासो गर्ने गरेकी छिन् । एजेन्सी