महिला प्रहरीद्वारा महिलामाथि निर्घात कुटपिट, भिडियो भाइरल भएपछि थालियो अनुसन्धान
काठमाडाैं । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा एक महिला प्रहरीले महिलामाथि नै कुटपिट गरिरहेकी छिन् । अर्का प्रहरी हवल्दारले ती महिलाको शरीरमा पाइपबाट पानी खन्याइरहेका छन् ।
‘मलाई किन पिटेको’ भन्दै कुटाइ खाने महिला प्रहरीमाथि नै जाइलागेको देख्न सकिन्छ भिडियोमा । ती महिलाको अगाडीपट्टीको कपडाको भाग पनि च्यातिएको देख्न सकिन्छ । महिला प्रहरीले लाठी–लात्तीले हान्नुका साथै गालामा पनि पटक पटक पिटेकी छिन् । दुवैबिच घमासानको लडाईँ परेको पनि भिडियोमा देख्न सकिन्छ । निर्घात कुटाइ खाने महिला रोइरहेकी छिन् भने कुट्ने महिला प्रहरी निकै आक्रोश मुद्रामा देखिन्छिन् ।
कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा जेठ १ गते घटेको घटना हो यो । त्यतिबेला प्रहरीमाथि कुनै कारवाही गरिएन । अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि भने अनुसन्धान सुरु गरिएकाे छ ।
जिल्ला बाहिरबाट आएर हेल्प डेस्कमा बसेका प्रहरीलाई दुर्व्यहार गरेपछि उक्त घटना घटेको प्रहरीको दाबी छ । सोही घटनाबारे अनुसन्धान गर्न सुरक्षा समितिको बैठक बस्न लागिएको रुकुम (पश्चिम) का प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलले जानकारी दिए ।
‘कुटाइ खाने महिलाले मदिरा पिएर प्रहरीमाथि दुव्र्यवहार गरेका कारण मदिराले चाँडो छोडोस् भन्नका लागि उहाँहरुले पानी खन्याइदिनु भएको रहेछ । तर नजिकैको अस्पताल लैजानुपर्ने थियो । दुवै प्रहरी जवानबाट गल्ती भएको छ । सुरक्षा समितिको बैठक २ बजे बस्दैछ । गल्ती गर्नेलाई सजाय दिन्छौँ’, प्रजिअ पौडेलले भने ।
अहिले पीडित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको उनले जानकारी दिए । कुटपिट गर्ने महिला आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विक हुन् ।