छोरीको बिहेमा ज्वाईँलाई दाइजोमा किन दिइयो २१ वटा विषालु सर्प ?
एजेन्सी । अधिकांशलाई छोरीको बिहेमा दाइजोस्वरुप खाट, दराज, भाँडाकुँडा दिएको मात्रै थाहा छ होला । यद्यपी संसारमा अनौठा चीजहरु दाइजोमा दिइन्छन् ।
अन्य ठाउँमा बिवाहको मिति तय गर्नेबित्तिकै पैसा खोज्न थालिन्छ दाइजोका लागि । छिमेकी मुलुक भारतमा एउटा यस्तो समुदाय छ जहाँ आफ्नो छोरीको बिहेको टुंगो लागेसँगै दाइजोमा दिइने सर्प खोज्न सुरु गर्दछन् । छोरीको बिहेमा २१ वटा विभिन्न खतरनाक विषालु सर्प दाइजोको रुपमा दिनुपर्दछ । त्यहाँको गौरिया समुदायमा सदियौँदेखि उक्त परम्परा चलिआएको छ ।
मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । सो समुदायमा छोरीको बिहेका बेला नयाँ ज्वाइँलाई दाइजोको रुपमा २१ वटा विषालु सर्प दिइन्छ । यदि बिहेमा सर्प दाइजो नदिएमा छोरीको वैवाहिक सम्बन्ध छिट्टै नै टुट्दछ भन्ने आम विश्वास उक्त समुदायमा रहिआएको छ ।
सो समुदाय सर्पसँग रत्तिभर डराउँदैन । बच्चाहरुसमेत सानैदेखि सर्पसँग खेल्दछन् र नडराइकन सर्प समाउने गर्दछन् । उसो त यो समुदायको मुख्य पेसा नै सर्प पक्रिने हो । सर्प समाएर मानिसहरुलाई देखाउने र नचाउने गरेरै उनीहरुले पैसा कमाउँछन् र जीविकोपार्जन गर्दछन् ।
छोरीको बिहेमा धन सम्पत्तिको साटो सर्प दाइजो दिनुको कारण पनि त्यहीँ नै हो । नयाँ ज्वाइँले दाइजोमा पाएका सर्पहरुको सहयोगमा कमाई गर्न सकोस् र परिवारको पेट पाल्न सकोस् भनेर सर्प दाइजो दिने परम्परा बसेको मान्न सकिन्छ ।
आफ्नो जीविकोपार्जनको आधारको रुपमा रहेको सर्पसँग यो समुदायको विशेष तथा आत्मीय नाता छ । उनीहरु सर्पलाई निकै माया तथा सम्मान गर्दछन् । यदि आफूले पालेको सर्प मर्यो भने पूरै परिवारका व्यक्तिहरुले कपाल मुण्डन गरेर शोक मनाउने र समुदायका सबै मानिसहरुलाई बोलाएर पितृ भोज गर्दछन् ।