दक्षिण कोरियामा काेराेना संक्रमित बढे, अस्ट्रेलियाको मेलबोर्नमा फेरि लकडाउन सुरु
काठमाडौं । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । गत २४ घण्टामा थप ५० मा कोरोना भेटिएको बताइएको छ ।
योसँगै यहाँका संक्रमितहरुको संख्या १३ हजार १९३ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा ४० देखि ७० जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि संक्रमणबाट ज्यान जानेको संख्या २८७ जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ ।
यहाँ निकै थोरै संख्यामा मात्र संक्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ ।
दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो । त्यस यता आजसम्ममा यहाँको सरकारले करिब १३ लाख ७० हजार भन्दा बढी व्यक्तिको परीक्षण गरेको जनाएको छ ।
कोरोना असरः अस्ट्रेलियाको मेलबोर्नमा ६ हप्ते लकडाउन शुरु
कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई छ सातासम्म घरभित्रै बस्न आदेश दिएका छन् ।
भिक्टोरिया राज्यमा बिहीबार अरु १६५ जनामा संक्रमण देखिएको थियो । यस राज्यमा अरु राज्यबाट हुने आवात-जावतमा पूर्ण रुपमा प्रतिबन्ध समेत लगाइएको छ । लकडाउनको सम्भावना रहेसँगै छिमेकी राज्य न्यू साउथ वेल्सबाट मानिसहरु बुधबार ठूलो संख्यामा भिक्टोरिया प्रवेश गरेका छन् । प्रहरीका अनुसार ३६ घण्टाभन्दा कम अवधिमा ३० हजारभन्दा बढी कार भिक्टोरिया प्रवेश गरेका छन् । यसबाट भिक्टोरियाका अरु क्षेत्रमा पनि कोरोनाभाइरसको संक्रमण अरु बढ्ने खतरा औंल्याइएको छ ।
न्यू साउथ वेल्सका प्रमुख ग्लाडिज बेरेजीक्लियानले सीमावर्ती शहर अल्बरीमा दुई जना नयाँ संक्रमित भेटिएको जनाउँदै अन्य राज्यको भ्रमण गर्दा विशेष सावधानी अपनाउन चेतावनी दिए । क्विन्सल्यान्ड राज्यले पनि बिहीबार भिक्टोरियाबाट हुने आवागमनलाई निषेध गरिएको घोषणा गरेको छ । क्विन्सल्यान्डले यसअघि अन्य राज्यबाट आउने यात्रुलाई १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने नियम पनि हाल स्थगित गरेको जनाएको छ ।
मेलबोर्नमा लकडाउनका कारण उत्पन्न हुनसक्ने आर्थिक तथा मानसिक स्वास्थ्यमाथिको असरका बारेमा चासो र चिन्ता व्यक्त हुन थालेको छ । अधिकारीहरुका अनुसार यस लकडाउनबाट राज्यमा करिब ४ अर्ब २० करोड डलर बराबरको आर्थिक क्षति हुनेछ ।
मेलबोर्नमा रेस्टुराँ र क्याफेहरु आंशिक खुल्न दिइने छ, तर जिम, सौन्दर्य सैलुन र चलचित्र प्रदर्शनमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । आम मानिसलाई घरभित्रै बस्न भनिएको छ, तर कार्यलयका काम, शारीरिक अभ्यास, स्वास्थ्य सेवा वा अत्यावश्यक सामान खरिद गर्नेगरी काममा निस्कन दिइने छ ।
सरकारले कडा नियम घोषणा गरे पनि धेरैजसो मानिसले प्रतिबन्धहरुको स्वागत गरेका छन् । मेलबोर्नमा सरकारी स्वास्थ्य अधिकारीहरु मानिसको स्वास्थ्य परीक्षणका लागि अहिले घरघरमा पुगेका छन् । अस्ट्रेलियामा हालसम्म कोविड–१९ बाट करिब ९ हजार व्यक्तिमात्र संक्रमित भएका र १०६ जनाको मृत्यु भएको छ ।
भिक्टोरिया राज्यबाहेक अस्ट्रेलियामा ज्यादै न्यून संख्यामा संक्रमित भेटिएका छन् । अधिकांश संक्रमित व्यक्तिहरु विदेशबाट फर्किएका र होटलमा क्वारेन्टिनमा बसेकाहरु रहेका छन् । ( रासस/सिन्ह्वा/एएफपी)