फास्ट ट्रयाक विवादः नेवाः सम्पदा मास्न पाइँदैन भन्दै माइतीघरमा प्रदर्शन (फाेटाेफिचर)
- सागर बाबु भट्ट
काठमाडौं । खोकनावासीको समर्थनमा ने.क.पा. (क्रान्तिकारी माओवादी) को नेवाः राष्ट्रिय मुक्ति मोर्चाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विकास निर्माणको नाममा नेवाः सम्पदा मास्न पाइँदैन भन्दै काठमाडौंको माइतीघर मण्डलामा फास्ट ट्रयाकको विरोधमा प्रदर्शन भएको हो । खोकनामा राज्य आतंक भएको उनीहरुको भनाइ छ ।
प्रदर्शनमा उत्रिएकाहरुले ‘भूमिमाथि भइरहेको माफियाकरण बन्द गर, विकास निर्माणका नाममा नेवाः सम्पदा मास्न पाइँदैन, खोकनाका किसान नेवाः किसान समुदायमाथिको राज्य आतंक मूर्दावाद, सडक विस्तार पीडितहरुलाई उचित क्षतिपूर्ति दे’ लगायत लेखिएका प्ले कार्ड बोकी नाराबाजी गरेका थिए । फास्ट ट्रयाकलाई खोकना बाहिर केन्द्रित गर्नुपर्ने उनीहरूकाे माग छ।
यसअघि असार २० गते पनि फास्ट ट्रयाक विषयमा विवाद हुँदा प्रहरी र खाेकनावासीबीच झडप भएकाे थियाे । खोकनाको खुदोल फाँटमा प्रस्तावित फास्ट ट्रयाकको जिरो किलोमिटरको विरोधमा स्थानीयले विराेध गरेपछि भएकाे झडपमा प्रहरीसहित स्थानीयवासी समेत घाइते भएका थिए । दर्जन बढी अश्रुग्यास प्रहार भएकाे थियाे । प्रहरीले लाठिचार्ज समेत गरेकाे थियाे भने स्थानीयले ढुंगामुढा गरेका थिए । यसअघि असार १५ गते पनि प्रहरी र स्थानीयवासी बिच यही विषयमा विवाद भएको थियो ।
सरकारले बाहिरी चक्रपथ, काठमाडौं तराई द्रूतमार्ग र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारण लाईन खोकना हुँदै बनाउने योजना अघि सारेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । फास्ट ट्रयाकका कारण बुंगमती, खोकना, कुदेश र सिकाली मन्दिरको सांस्कृतिक र ऐतिहासिक सभ्यताका साथै उपत्यकाकै खेती योग्य जमिन मासिने स्थानीयकाे भनाइ छ ।
सबै तस्विरहरूः मकालु खबर/सागर बाबु भट्ट