कोठा भाडा असुल्न बढी मुल्यमा मल बिक्री
काठमाडौं । चितवनको खैरहनीमा रहेको एक कृषि सहकारीले महँगो मुल्यमा मल बिक्री गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर १ मा रहेको ज्यामिरे कृषि सहकारी संस्था लिमिटेडले युरिया मल महँगो मुल्यमा बिक्री गरेको हो ।
सामान्यतयाः युरिया मल प्रतिकिलो २० रुपैयाँमा बिक्री हुँदै आएकोमा सो सहकारीले प्रतिकिलो २५ रुपैयाँमा मल बिक्री गरेको छ । यसरी सहकारीले नै महँगोमा मल बिक्री गरेपछि किसानहरु मर्कामा परेका छन् ।
अभावको बेला मल बिक्री गरेर किसानलाई केही सहजता बनाएपनि सरकारले अनुदान दिएको मलमा समेत सहकारीले अन्य व्यवसायी जस्तो धेरै नाफा राखेको भन्दै किसानले असन्तुष्टि पनि जनाएका छन् ।
मल अभाव हुने भएकाले संस्थाले चैतमा नै कृषि सामग्री कम्पनी लिमिटेडबाट मल ल्याएर भण्डार गरेको थियो । मल ढुवानी तथा भण्डारण खर्च जोडेर मल बिक्री गरेको संस्थाका उपाध्यक्ष हिरा भुषालले बताए ।
उनका अनुसार झन्डै ७० बोरा मल भण्डारण गरिएको थियो । मल जहिले ल्याएर भण्डारण गरेतापनि महँगो मूल्यमा बिक्री गर्न नपाइने भन्दै यस विषयमा नगरपालिकाले छानविन गर्ने खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले बताए ।