दिपाश्रीको पक्षमा बाेल्दै प्रियंकाले गरिन् यस्ताे आग्रह
काठमाडौं । नायिका प्रियंका कार्कीले कलाकारले सानो गल्ती गर्दैमा अश्लिल गाली गलौज गरी चरित्र हत्या नगर्न आग्रह गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । एउटा गलत बोली या तर्कले कोही व्यक्तिको चरित्रमै दाग लगाइदिनु राम्रो नभएको उनको भनाइ छ ।
‘कसैको तर्क, भाव या बिचार आफूलाई चित्त नबुझे आवाज उठाउने अधिकार तपाईँ सबैमा सुरक्षित छ । चित्त नबुझेको कुरा राख्नुस्, वहाँलाई सकारात्मक ढंगले सच्चाउनुस्’, उनले लेखेकी छिन्, ‘तर सच्चाउने क्रममा अस्लिल गाली, गलौच र चरित्र हत्या कृपया नगरिदिनुस् । एउटा गलत बोली या तर्कले कोही ब्यक्तीको चरित्रमै दाग लगाइदिनु त राम्रो होइन नि ।’
यस्तै नायिका कार्कीले आफ्नो आफन्त, आफ्नै छोरा–छोरीले केही गलती गरे, हामी के मुख छाडेर, मन परि अश्लील गाली गर्छौ र ? भन्दै प्रश्न समेत गरेकी छिन् । ‘एउटा अभिभावकको नजरबाट सम्झाउँछौँ, गल्ती औल्याउँदै अगाडी बढ्ने हौसला दिन्छौँ, माफी मागे स्वीकार्छौँ । यहि तरिका हाम्रा देशका छोरी चेलीको लागि पनि अपनाउन पाए कति राम्रो हुन्थ्यो नि, होइन र ?’, उनको तर्क छ ।
दिपाश्री निरौला ‘राजेश हमाल महानायक हो र ?’ भन्दै अभिव्यक्ति दिएपछि विवादमा तानिएकी थिइन् । हमालको महानायक उपाधिमाथि दीपाश्रीले प्रश्न उठाएपछि उनकोे सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । निकै आलोचना खेपेपछि दिपाश्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत् माफी पनि मागिसकेकी छिन् । तर हमालका समर्थकले भने आलोचना गर्न छाेडेका छैनन् ।