मिर्गौला प्रत्यारोपणकाे आरोपमा पक्राउ परेका डाक्टरसहित १२ जना सार्वजनिक
काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको छ ।
शनिबार चितवनबाट भरतपुर मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) का ३ जना डाक्टरलाई नियन्त्रणमा लिएको टोलीले आइतबार बिहान ललितपुरबाट ९ जनालाई नियन्त्रणमा लिएको थियो । दिउँसो उक्त अवैध कार्यमा संलग्न सबैलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा डाक्टरसहित ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन पनि रहेका छन् । वडाध्यक्ष महर्जनले अवैध रुपमा मिर्गौला प्रत्यारोपण गर्ने समूहलाई सघाएको प्रहरीकाे आरोप छ । उनले नक्कली नाता प्रमाणित गर्ने कागजमा प्रमाणित गरेकोले नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।
उनीहरुले २०७६ जेठ २७ गते आर्थिक लेनदेन गरेर गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण गराएका थिए । पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको छ ।