नवगठित जसपाले पायो निर्वाचन आयोगबाट दलको प्रमाणपत्र
काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगबाट राजनीतिक दल एकीकरण भएको प्रमाणपत्र पाएको छ ।
निर्वाचन आयोगले १ सय ५९ नम्बर कायम हुनेगरी जसपा दल दर्ता गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएको ‘जनता समाजवादी पार्टी, नेपाल’ नामको राजनीतिक दल कायम रहनेगरी प्रमाणपत्र दिइएको आयोगले जनाएको छ ।
दलको प्रमाणपत्र प्राप्त गरेपछि पार्टीका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जसपालाई प्रमाणपत्र र आधिकारिक पत्र प्रदान गरेकोमा आयोगप्रति आभार व्यक्त गरेका छन् ।
‘अग्रगामी परिवर्तनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादप्रति समर्पित राजनीतिक शक्ति र व्यक्तिहरुलाई जसपामा आबद्ध हुन आह्वान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
गत १० बैशाखको मध्यरातमा भएको एकीकरणपछि बनेको जसपा निवेदन दिएको करिब एक महिनापछि निर्वाचन आयोगमा दर्ता भएको थियो ।