पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउँछौं : डा. भट्ट

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्दै पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी गरेको स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता भट्टले अहिलेसम्म सबै क्षेत्रका विज्ञहरूको सुझाव लिने काम भैसकेको बताए ।‘सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्नेगरि नै मौद्रिक नीति आउँछ, यसले सबै क्षेत्रको सुझावहरू समेट्ने कोसिस गरेको छ’ उनले भने ।

कोभिड–१९ का कारण आर्थिक वृद्धिदरको गतिमा ब्रेक लागेको र आपूर्ति शृङ्खलासमेत अवरुद्ध भइरहेको परिस्थिति सुनाउँदै उनले अब आउने मौद्रिक नीतिले आर्थिक पुनरुत्थान गर्ने विश्वास दिलाए । उनले भने,‘मौद्रिक नीतिमा आर्थिक पुनरुत्थानमै जोड छ । अधिकतम लचिलो नीति ल्याउने गरी हामी छलफलमा छौँ ।’

मौद्रिक नीतिले कोभिडबाट प्रभावित क्षेत्रलाई चाँडो सञ्चालन गर्न मद्दत पुर्‍याउने, वित्तीय साधनलाई प्राथमिकीकरण गर्ने, डिजिटलाईजेशनमा जोड दिइने, संस्थागत सुशासनमा जोड दिइने उनले सुनाए । अहिलेको आर्थिक सङ्कटबाट बचाउनको लागि मौद्रिक नीतिले आधार दिने उनको भनाई छ ।

बैङ्कहरूको कर्जा प्रवाह हुन नसकेका कारण बजारमा तरलता अधिक रहेको साथै बजेटमै व्यवस्था गरिएको पुनर्कर्जा कोषको सही परिचालन र आर्थिक पुनरुत्थानका लागि पनि मौद्रिक नीतिकेन्द्रित हुने उनले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *