विश्वभर ७५ लाख ८१ हजारले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ७५ लाख ८१ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७५ लाख ८१ हजार ५ सय २५ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख ७१ हजार ५१८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड ३० लाख ३४ हजार ९५५ छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ३७ हजार ७८२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ३४ लाख १३ हजार ९९५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ३४९ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३८० जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १८ लाख ६६ हजार १७६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६५९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७२ हजार ५५१ पुगेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार १८७ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा २९ हजार १०८ जना नयाँ संक्रमित थपिएका छन् ।