घुस रकमसहित उद्योग अधिकृत ओली र नासु ठाकुर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ९ हजार ३ सय घुस रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत (सातौं तह) हुकुम बहादुर ओली र भूमिसुधार तथा मालपोत कार्यालय, राजविराज सप्तरीमा कार्यरत ना.सु. कृष्ण बल्लभ ठाकुरलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

ओलीले ठेक्का पट्टाको अनुमति– पत्र (लाइसेन्स) बनाइदिने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना तथा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

ओलीलाई सेवाग्राहीबाट ९६ हजार ३०० घुस/रिसवत लिइसकेको अवस्थामा उनैको कार्यकक्षबाट उक्त घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

त्यस्तै नासु ठाकुरले ट्रायल चेक गरी बढी जग्गाको श्रेष्ता कायम गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी परेको थियो । उजुरीपछि अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सेवाग्राहीबाट १३ हजार घुस/रिसवत बुझी लिइसकेको अवस्थामा उनको कार्यकक्षबाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *