नेपाली चलचित्रको एक युग हाँकेका निर्देशक तुलसी घिमिरे, जसले सयाैँ कलाकार जन्माए
काठमाडौँ । नेपाली चलचित्रको एउटा युग हाँकेका निर्देशक तुलसी घिमिरेको जन्म दिन हो आज । निर्देशक घिमिरेको जन्म भारत, दार्जिलिङको कालिम्पोङमा सन् १९५१ जुलाई १५ मा भएको हो ।
कला र प्रविधिको ज्ञान एवं सीप भएका निर्देशक तुलसी नेपाली चलचित्रका लागि एक गौरवपूर्ण नाम मात्र नभई एउटा खुला विश्वविद्यालय समेत हुन् । यस्तो लाग्छ मात्र चलचित्रकै लागि जन्मिएका हुन् घिमिरे । घिमिरेले आफ्नै माटोमा आएर पहिलो पटक निर्देशन गरेको चलचित्र हो बाँसुरी । सन् १९८१ सालमा निर्देशन गरेका हुन् उक्त चलचित्र ।
उनै निर्देशक घिमिरले ‘कुसुमे रुमाल, चिनो, लाहुरे, दुई थोपा आँशु, दक्षिणा, देवता, बलिदान, दर्पण छाँया’ जस्ता अजम्बरी चलचित्रमा थुप्रै कलाकार जन्माए । उनी एक कुशल निर्देशक, पटकथाकार, मात्र नभई अभिनेता तथा सम्पादक पनि हुन् । उनै घिमिरेको आगमनपछि नेपाली चलचित्र क्षेत्रले व्यवसायिक रुपमा छलाङ मारेको हो ।
युवा उमेरमा उनलाई चलचित्रको मोहले डाेर्याउँदै मुम्बईसम्म लगेको थियो । मुम्बईमा रहँदा उनले चलचित्रका आयाम बुझ्ने मौका पाए । त्यसपछि घिमिरेले आफ्नो कर्मथलो नेपाललाई बनाए अनि नेपालमा व्यवसायिक चलचित्र क्षेत्रमा एक किसिमको जग बसाले ।
घिमिरेलाई सुरुमा निर्देशनको अनुभव थिएन । उनि सम्पादनको काम सिकिरहेका थिए । आफैँमा एक कुशल अभिनेता पनि हुन् घिमिरे । थुप्रै चलचित्रमा उनले अभिनय गरेका छन् । त्यसमध्ये लाहुरे, दक्षिण,रहर, आदिमा उनको सम्झनलायक भूमिका रहेको छ । नेपाली चलचित्रको एउटा कालखण्डमा जति पनि कलाकारहरु पर्दामा आए, त्यसको पछाडि तुलसी घिमिरेको ठुलो हात रहेको छ । उनले तृप्ति नाडकर, उदित नारायण झा, सृजना बस्नेत, उत्तम प्रधान, निरुता सिंहलाई ब्रेक दिएका हुन् ।
संगीतकार रनजीत गजमेरकी छोरी भारती गजमेरसँग घिमिरेले विवाह गरे । उनै घिमिरेका ‘दुई’ सन्तान भावना र पन्चमी घिमिरे छन् । घिमिरेका अधिकांश चलचित्रका गीतहरुमा संगीत दिएका छन् रनजितले, जो कालजायी छन् । साथीको सम्बन्ध भएका उनीहरु पछि भने ससुरा-ज्वाईं भए । घिमिरेका आफ्नै भाई पनि यहि क्षेत्रमा निर्माता र अभिनेताका रुपमा चिनिन्छन्, जो हुन् श्रवण घिमिरे । उनले भाईसँग मिलेरै होम प्रोडक्सनकै चलचित्रहरु बनाएका थिए ।
जन्मदिनको शुभकामना तुलसी घिमिरे !