३ अर्ब ८२ करोड राजस्व छलि गर्ने ४ कम्पनीविरुद्ध मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार मू.अ कर र आयकर राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालक तथा प्रोपाइटरविरुद्ध मुद्दा दर्ता गरेको छ । ३ अर्ब ८२ करोड विगो असुल उपर जरिवाना र कैद सजाय मागदावी गर्दै आज (बुधबार) उच्च अदालत पाटनमा विभागले मुद्दा दर्ता गरेको हो ।
काठमाडौ महानगरपालिका–१७ सोह्रखुट्टेमा सञ्चालनमा रहेको हाईटेक ईन्टरनेशनल प्रा.लि. (स्था.ले.नं. ३०५०३७८९५) का संचालक समेत २ जनालाई राजस्व चुहावट गरेको अभियोगमा कैद सजायसहित २ अर्ब ४२ करोड ९८ लाख विगो मागदाबी गरिएको छ ।
हाईटेकले भन्सार विन्दुबाट मालबस्तु पैठारी गर्दा कतिपय मालवस्तु घोषणा नै नगरी लुकाई छिपाई चोरी पैठारी गरी नेपाल ल्याई आफ्नो कारोबार स्थलमा राखेको र कारोबार लुकाएको विभागले जनाएको छ ।
त्यस्तै ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा संचालनमा रहेका जे.एस.एस. मोबाईल एण्ड सर्भिसेज प्रा.लि (स्था.ले.नं.३०४४९२७३६), श्री श्याम इम्पेक्स (स्था.ले.नं.६०१०९५०१६) र श्री श्याम बाबा इन्टरप्राइजेज (स्था.ले.नं. ६०१०९५०२९) का संचालक–प्रोप्राईटर तथा मुख्य कारोबारी समेत ४ जनाविरुद्ध पनि मुद्दा दायर भएको छ ।
राजस्व चुहावट गरेको अभियोगमा १ अर्ब ३९ करोड ८ लाख विगो कायम गरी उक्त विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई विभागले मुद्दा दर्ता गरेको हो । उक्त कम्पनी तथा व्यक्तिहरुले पटक पटक भन्सार नतिरी अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान ल्याई बिल बीजक जारी नगरी बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ ।
उक्त फर्महरुको कारोबार सम्बन्धी खातावही, लेजरहरु, नगदी रसिद ल्यापटप, हार्ड डिस्क लगायतका अन्य कागजात एवं प्राप्त सवुत प्रमाणहरुको छानबिनबाट उल्लिखित फर्महरुले कारोबार लुकाउने छिपाउने उद्देश्यले कर प्रयोजनमा पेश गर्ने वाहेक अलग्गै किसिमको आन्तरिक लेखा तथा खाता राख्ने गरेको, सबै बिक्री आम्दानी कर प्रयोजनमा समावेश नगरी आंशिक कारोबार मात्र देखाई नेपाल सरकारलाई तिर्नु/बुझाउनु पर्ने भन्सार, मू.अ.कर तथा आयकर छली गरेको विभागको अनुसन्धानमा देखिएको छ ।