पैसाबारे दम्पती र साथीबीच किन विवाद हुन्छ ? यस्ता छन् चार कारण
काठमाडौं । के तपाईँले पैसाको विषयमा आफ्नो जीवनसाथीसँग विवाद गर्नु भएको छ ? परिवारका अन्य सदस्य वा साथीहरूसँग नि ?
हामी पैसा बारे कुराकानी गर्न रुचाउँदैनौँ; यसो गर्नु अप्ठयारो वा अप्रिय लाग्नसक्छ । कसैका लागि यो अभद्र पनि हुनसक्छ । तर यस्तो हुँदाहुँदै पनि पैसाबारेको कुराकानीबाट सधैँ तर्किन सकिँदैन । र यसको कुराकानीको अन्त्य सधैँ राम्रो हुँदैन ।
हालै ब्रिटेनमा गरिएको एउटा अध्ययनका अनुसार सम्बन्धमा समस्या ल्याउने प्रमुख स्रोत मध्ये एक पैसा हो । र यसको असर दम्पतीमा मात्र सीमित हुँदैन । यो परिवारका सदस्य र साथीसँगीसँग हुने समस्याको समेत कारण हो । र यस्तो अवस्थाको समाधान भनेको कुराकानी र पैसाबारे इमानदारी र खुला छलफल हो ।
तपाईँ खर्चालु हुनुहुन्छ या बचत गर्नुहुन्छ ?
तपाईँका लागि बाल्यकालमा पैसा सधैँ अपुग हुन्थ्यो भने तपाईँ निकै खर्चालु व्यक्ति बन्न सक्ने सम्भावना रहन्छ । निसहरूबीच पैसाको विषयमा विवाद उत्पन्न हुनुको एउटा प्रमुख कारण भनेको यसको विषयमा उनीहरूको फरक दृष्टिकोण हो ।
त्यस्तो दृष्टिकोणको निर्माण बाल्यकालदेखि नै हुन्छ जुन घरेलु वातावरण र अनुभवबाट सिर्जित हुन्छ । तर यसको अर्थ तपाईँले सधैँ आफ्ना अभिभावकको सिको गर्नुहुन्छ भन्ने भने होइन । उदाहरणका लागी तपाईँका लागि बाल्यकालमा पैसा सधैँ अपुग हुन्थ्यो भने पछि गएर तपाईँ निकै खर्चालु व्यक्ति बन्न सक्ने सम्भावना रहन्छ ।
र हामी पैसालाई यसको लेनदेनसँग सम्बन्धित सुविधाभन्दा माथि राखेर यसलाई अर्थपूर्ण बनाउँछौँ । हामी मध्ये केहीका लागि पैसाले सुरक्षा प्रदान गर्छ भने केहीका लागि यसले स्वतन्त्रता प्रदान गर्छ। अन्य केहीका हकमा भने यसले हैसियत र शक्तिको प्रत्याभूति दिलाउँछ ।
यसै कारण पैसासँगको हाम्रो सम्बन्ध जटिल हुन्छ र यसको छाप गहिरो हुन्छ । र त्यसले पैसाबारे फरक धारणा राख्ने मानिससँग भेट हुँदा निराशा उत्पन्न गराउन सक्छ । तपाईँ आफ्ना साथीसँगीले नयाँ लुगा वा रात्रिकालीन मनोरञ्जनमा पैसा खर्च गरेको नरुचाउन सक्नुहुन्छ । तपाईँको साथीसँगी भने पैसाबारे तपाईँको सोच साँघुरो हुन नहुने र कहिलेकाहीँ मनग्य खर्च गर्नुपर्छ भन्ने हुन सक्छ ।
सम्पत्ति बाँडफाँट
नयाँ सम्बन्ध सुरु गर्दा ‘मेरो पैसा’ र ‘तिम्रो पैसा’लाई ‘हाम्रो पैसा’ बनाउन जटिल हुनसक्छ । आफूहरूको पैसा कसरी बाँड्ने भन्ने विषयमा निर्णय लिने कुरा तिक्ततापूर्ण हुनसक्छ । पैसा आधाआधा गर्ने कुरा सधैँ उचित नलाग्न सक्छ ।
त्यस्तो अवस्थामा तपाईँहरू दुवै जनालाई मान्य हुने कुरा के हुन सक्ला ? त्यस्तै अवस्था परिवर्तन हुँदा पैसा बारे फेरी छलफल गर्नुपर्ने हुनसक्छ । जस्तो नयाँ बच्चा जन्मेको अवस्थामा वा जागिर नभएको अवस्थामा । यस्तो अवस्थामा के उचित होला ?
तपाईँहरू मध्ये एक जनासँग बाबुबाजे बाट प्राप्त भएको धनराशि छ । के तपाईँ त्यो बाँड्नुहुन्छ ? तपाईँसँग साथीभन्दा कम पैसा छ भने त्यसले तपाईँको सम्बन्धमा शक्तिको असन्तुलन उत्पन्न गराउन सक्छ। अरूमा भर पर्नुपर्दा निराशा महसुस हुनसक्छ ।
अविश्वास
‘यस्तो महसुस भइरहेको थियो कि उनी भिसा (कार्ड) सँग सम्बन्धमा थिइन ।’ ‘उनी हाम्रो वैवाहिक सम्बन्ध बाहिर मोजमस्ती गरिरहेकी थिइन,’ बीबीसी रेडियोका श्रोता जेम्स भन्छन् ।
आफ्नी पत्नीले थाहै नदिई क्रेडिट कार्डको प्रयोग गरेर हजारौँ पाउन्ड खर्च गरेको थाहा पाएपछि उनले आफूमाथि धोका भएको महसुस गरे । जब तपाईँ कुनैपनि सम्बन्ध सुरु गर्नुहुन्छ, एकआपसमा विश्वासको स्तर उच्च हुन्छ । तपाईँ आफ्नो साझेदारमाथि विश्वास गर्नुहुन्छ ।
तर पैसालाई हेर्ने दृष्टिकोण फरक परेको अवस्थामा भने उक्त विश्वासमाथि असर पर्नसक्छ । त्यसकारण पनि तपाईँ आफ्नो खर्च गर्ने बानी बारे इमानदार हुनपर्छ र पैसा अनि खर्चबारे तपाईँलाई के लाग्छ भन्ने कुरा खुला रूपमा छलफल गर्न तयार हुनुपर्छ ।
पैसा सापटी
कसैले तपाईँसँग पैसा सापट माग्यो भने के गर्नुहुन्छ ? ऋण माग्ने अप्ठयारो अवस्थामा रहेका साथी हुन सक्छन् वा घर मर्मत गर्न वा नयाँ गाडी किन्न थप रकमको आवश्यकता परेको आफन्त हुन सक्छन् ।
तपाईँले उनीहरूलाई निष्फिक्री ऋण सहयोग गर्न सक्नुहुन्छ। तर उनीहरूले त्यस्तो सहयोगलाई उपहारको रूपमा लिएर फिर्ता नगर्न पनि सक्छन् । त्यस्तो अवस्थामा के होला ? यदि तपाईँ कसैलाई सहयोग गर्न इच्छुक हुनुहुन्छ भने प्रस्ट रूपमा कुराकानी गर्न आवश्यक हुन्छ । गलत बुझाइ नहोस् भनेर सहमति के हो भन्ने विषयमा प्रस्ट हुनुस्।
पैसा जोगाउने केही तरिका
-उपहार योजनाबाट नलोभिनुस् । आफूलाई चाहिएको कुरा मात्र किन्नुस् । र आवश्यक परेको बेला मात्र किन्नुस् । एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने के कुरा सम्झनुस् भने तपाईँले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ ।
-प्रलोभनबाट बच्नुस्: कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस् ।
-खानपानको बजेटबारे ख्याल राख्नुस्: खपत गर्ने सामान मात्र खरिद गर्नुस् ।
-सकेसम्म पैसाको प्रयोग गरेर सामान किन्नुस्: कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ ।
-प्रयोग भइसकेका सामान किन्नुस्: यो तपाईँको लागि सस्तो पर्न सक्छ र वातावरणीय हिसाबले उचित ।
-अनावश्यक कुरा बेच्नुस ।
-ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्नुस् ।
स्रोत : बीबीसी