रहेनन् थवाङका पुराना कम्युनिष्ट नेता बर्मन बुढा
काठमाडौं । पूर्वसांसद तथा नेकपाका नेता बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बुढाको बिहान ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
माओवादी जनयुद्धको उद्गम थलोका रूपमा लिइने रोल्पा थबाङका पुराना कम्युनिस्ट नेता बुढा नेपालको कम्युनिस्ट आन्दोलनका अग्रज नेता मानिन्छन् । उनी २०४८ सालमा भएको निर्वाचनमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।
तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत बर्मन बुढा होमिएका थिए । उनले थवाङमा माओवादीको जग हाल्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढाको निधनप्रति दुःख व्यक्त गरेका छन् । बुधबार बिहान समवेदना सन्देश जारी गर्दै प्रचण्डले बुढाको निधनले मर्माहत बनाएको जनाएका छन् ।