नायिका पूजाकाे प्रश्नः भारतको चलचित्र क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नुपर्ने हो ?

कठमाडौँ । नेपाल सरकारले मंगलबार राती १२ बजेबाट लकडाउन अन्त्य भएको घोषणा गरेको छ । तर, लकडाउन अन्त्य गरिएकाे भनिएपनि केही क्षेत्रहरू सञ्चालनका लागि अझै प्रतिबन्ध लगाइएकाे छ । हलहरूले सञ्चालन अनुमति नपाउँदा  चलचित्र क्षेत्र पनि बन्दबन्दीकै अवस्थामा छ ।

अधिकांश क्षेत्रहरु खुलिसक्दा पनि चलचित्र क्षेत्रको बिषयमा कुनै पनि निर्णय नहुँदा कलाकारहरु आक्रोशित बनेका छन् । नायिका पूजा शर्माले पनि आक्रोश पाेख्दै के भारतको चलचित्र क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नु पर्ने हो ? भन्दै प्रश्न गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्, ‘चलचित्र क्षेत्र चलायमान गर्न हामी कति गम्भिर छौँ ?  के भारतको चलचित्र क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नुपर्ने हो ?’

बजार, यातायात खुलिसकेकाे अवस्थामा चलचित्र क्षेत्र सञ्चालनका लागि भने सरकार र नेतृत्व वर्ग दुवैले अग्रसरता नदेखाएकाे उनकाे गुनासाे छ । उनी भन्छिन्– ‘चलचित्र क्षेत्र सुचारू गर्ने तत्परतातर्फ न सरकार, न त चलचित्र क्षेत्रका नेतृत्व वर्ग नै अग्रसर देखिएका छन् । के नेपाली चलचित्रको छुट्टै अस्तित्व छैन ? नेपाली चलचित्र चलायमान हुन सक्दैन ? आऔँ छलफल, बहस गराैँ ।’

चलचित्र क्षेत्र चलायमान बनाउन सरकारलाई दबाब दिन पनि उनले आग्रह गरेकी छिन् । ‘कोरोना कहरबाट सुरक्षित रहने व्यवस्थासहित चलचित्र क्षेत्रलाई चलायमान बनाउन सरकारलाई दबाब दिऊँ’, उनले लेखेकि छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *